तीन वर्ष अगाडि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर ‘ब्रेन इञ्जुरी’ भएकी अभिनेत्री तथा मोडल निशा घिमिरेका लागि आर्थिक सहयोग जुट्न थालेको छ । शनिवार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले उनलाई सहयोग स्वरुप ५१ हजार प्रदान गर्ने निर्णय गरेको थियो । निशालाई सहयोग गर्न अभिनेत्रीहरु पनि अगाडि सरेका छन् ।

शनिवार अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले निशा बस्दै आएको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरे । करिश्माले २५ हजार र रेजिनाले १० हजार सहयोग गरेका हुन् । अमेरिकामा बस्दै आएकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार पनि हस्तान्तरण गरिएको कलाकार संघले जनाएको छ । संघले निशाका लागि सहयोग अभियान सुरु गरेको छ ।
संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरिएको संघका प्रवक्ता मोहन निरौलाले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । उनको स्वास्थ्यमा सुधार आउनेमा नर्भिक अस्पतालका चिकित्सकहरु विश्वस्त छन् । उनले नेपाली र मैथिली भाषाको चलचित्र ‘मधेशीपुत्र २’ सँगै केही टेलिसिरियल र तीन दर्जनभन्दा बढी म्यूजिक भिडियोमा काम गरेकी छन् ।




