हास्य कलाकार जितु नेपाल मंगलवार आफ्नो जन्मदिन मनाइरहेका छन् । ‘जिरे खुर्सानी’ मा निर्वाह गरेको ‘मुन्द्रे’ चरित्रले दर्शकमाझ आफूलाई चिनाउन सफल भएका उनले ‘ट्वाक्क टुक्क, तितो सत्य, हिजो आजका कुरा’ लगायतका टेलिसिरियलसँगै तीन दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय उनले सञ्चालन गर्दै आएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ लाई पनि दर्शकले निकै रुचाएका छन् ।
जितुले बि. सं. २०४८ सालमा सिन्धुपाल्चोकको जाल्पा माविबाट एसएलसी परीक्षा दिएका हुन् । उनले एसएलसीमा सेकेन्ड डिभीजनमा उत्तीर्ण गरेका थिए । बि.स. २०५९ फागुन १३ गते मुना नेपालसँग मागी विवाह गरेका उनका एक छोरा र एक छोरी छन् । जितुको कमिक टाइमिङ र सेन्स अफ ह्यूमरलाई दर्शकले निकै रुचाउने गरेका छन् ।

उनी बेला बखतमा विवादमा पनि तानिरहेका हुन्छन् । पछिल्लो समय ‘छक्का पन्जा’ टिमसँग उनको विवाद सतहमा आएको थियो । यो टिमले निर्माण गरेको पहिलो चलचित्र ‘६ एकान ६’ देखि पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ सम्म उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तर, अब ‘छक्का पञ्जा’ समुहले निर्माण गर्ने नयाँ चलचित्रमा उनी दोहोरिने सम्भावना न्यून छ ।
उनले सञ्चालन गर्दै आएको ‘मुन्द्रको कमेडी क्लब’ मा दीपाश्री निरौला अध्यक्षको रुपमा थिइन् । ‘महानायक’ विवादपछि उनको ठाउँमा करिश्मा मानन्धरलाई राखिएपछि ‘छक्का पञ्जा’ समुहभित्र मतभेद सुरु भएको थियो । शोबाट दीपाश्रीलाई हटाउन जितुकै ठूलो भूमिका रहेको निष्कर्ष समुहको छ । यसैको प्रतिसोध साँध्न दीपक-दीपाले पनि जितुलाई समुहबाटै निकालेको चर्चा छ ।
‘छक्का पञ्जा’ समुहले गत वर्ष होलीको छेकोमा सार्वजनिक गरेको ‘धनियाँ के होली’ गीतमा जितु नअट्नुले पनि चलचित्र क्षेत्रको एउटा शक्तिशाली समुह विभाजन भएको चर्चालाई बल मिलेको थियो । दीपकराजले नयाँ प्रोजेक्टमा जितु दोहोरिने सम्भावना न्यून रहेको संकेत गरिसकेका छन् । उता जितु नेपालले पनि एक-दुईवटा प्रोजेक्टमा सहकार्य नहुँदैमा सम्बन्ध नबिग्रने बताएका छन् ।
यसबीच, दीपकराजले जितुलाई फेसबुकमार्फत् जन्मदिनको शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘तपाईंसँग जे छ, त्यो मसँग छैन । मसँग भएको तपाइसँग नहुनसक्छ । सायद, यही एक अर्कोसँग नभएका कुरा अैचो पैचो गर्दै एउटै खोलामा मिसियौं र बग्दै गयौं निरन्तर । कहिलेकाही हाम्रा मतभेदका छालहरु एक अर्कोसँग ठोक्किए पनि हाम्रो गती कहिले रोकिएन र रोकिदैन पनि ।’