पीडितको आवश्यकता अनुसार राहत बाँड्नु पर्छ : आँचल शर्मा



कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी भएपछि चलचित्रसँग सम्बन्धित हरेक गतिविधि ठप्प भएका छन् । जसले गर्दा चलचित्रमा काम गरेर परिवारको गुजरा चलाउने प्राविधिकहरु समस्यामा परेका छन् । उनीहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या भएको खबर सार्वजनिक हुन थालेपछि चलभित्रकर्मीहरुले सहयोग गरिरहेका छन् । कतिले खाद्यान्न सहयोग गरेका छन् भने कतिले आर्थिक सहयोग गरेका छन् ।

निषेधाज्ञापछि विभिन्न कलाकारले प्राविधिकलाई सहयोग गर्दा अभिनेत्री आँचल शर्माको भने सक्रियता देखिएको थिएन । १० दिने ध्यान शिविरबाट फर्किएपछि उनी राहत वितरणमा अग्रसर भएकी छन् । सोमवार उनले सयभन्दा बढी प्राविधिक, जुनियर कलाकार, होचा पुड्का संघका पदाधिकारी तथा सदस्यहरु, सुत्केरी, असक्त र केही सर्वसाधारणलाई खाद्यान्न वितरण गरिन् ।

‘रजतपट कोसेली अभियान’ को तेस्रो चरणको राहत वितरण गर्ने क्रममा आँचलले फिल्म क्षेत्रसँग सम्बन्धित कोही व्यक्तिलाई भोको बस्न नदिन आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । उनी भन्छिन्, ‘म केही दिन विपश्यना ध्यानमा गएका कारण राहत वितरणमा सहभागी हुन पाइनँ । विपश्यनाबाट आएपछि भने राहत वितरणमा मैले आफ्नो उपस्थिति जनाउन थालेको हुँ ।’

राहत बाँड्नु अत्यन्त राम्रो काम भए पनि पीडितको आवश्यकता अनुसार राहत वितरण गर्नुपर्ने उनको जोड छ । आँचल अगाडि भन्छिन्, ‘मैले बाँडेको राहत कसैलाई वालछ्याल नहोस् । कसैलाई अन्य सामाग्रीको आवश्यकता परेको हुनसक्छ । त्यसैले मैले सकेसम्म पैसा सहयोगमा नै बढी जोड दिने गरेको छु ।’ उनले नर्भिक अस्पतालमा उपचारार्थ अभिनेत्री निशा घिमिरेलाई पनि एक लाख सहयोग गर्ने घोषणा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu