नेपाली चलचित्र ‘एक्स ९’ मा सुनील शेट्टीलाई भिलेनको प्रस्ताव



निर्देशक मुकुन्द भट्ट नयाँ चलचित्र ‘एक्स ९’ को तयारीमा छन् । उनले यो चलचित्रको घोषणा निषेधाज्ञाभन्दा अगाडि नै गरेका हुन् । तर, कोरोनाको दोस्रो चरणको महामारी सुरु भएपछि चलचित्र प्रि-प्रोडक्सनमै अड्किएको छ । यो नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर चलचित्र हुने निर्देशक भट्टको दाबी छ । उनी यो चलचित्रमा नेपालीसँगै बलिउडका एक सुपरस्टार नायकलाई समेत लिने तयारीमा छन् ।

चलचित्रका लागि भिलेनको अफर बलिउड सुपरस्टार सुनील शेट्टीलाई गरिएको छ । करीब एक महिना अगाडि शेट्टीसँग चलचित्रको बारेमा कुराकानी भएको निर्देशक भट्टले बताए । उनले भने, ‘उहाँ चलचित्रलाई लिएर सकारात्मक हुनुहुन्छ । सम्भवतः चाँडै कागजी सम्झौता हुनेछ । उहाँले दिनको हिसाबले पारिश्रमिक लिने हुँदा एक हप्तामा उहाँको भागको सम्पूर्ण दृश्य खिच्ने छौं ।’

उनका अनुसार, एक हप्तामा सुनील शेट्टीलाई करीब ४० लाख पारिश्रमिक तिर्नुपर्नेछ । तिहारपछि छायांकन सुरु हुने चलचित्रका लागि उनी नेपाल नै आउनेछन् । त्यस्तै, ‘एक्स ९’ मा नायकको अफर अभिनेता अनमोल केसीलाई गरिएको छ । अनमोल चलचित्र गर्न तयार रहेको र अहिले वर्कआउट गरिरहेको मुकुन्दले जानकारी दिए । उनले चलचित्रका लागि ‘कृ’ बराबरको शरीर बनाउनु पर्नेछ ।

चलचित्रमा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने बताइएको छ । चलचित्रलाई नेटफ्लिक्समा रिलिज गर्न पहल गरिने भट्टले बताए । चलचित्रको कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक रहेका छन् । चलचित्रको लगानी ४ देखि ५ करोडको आसपास हुने अनुमान गरिएको छ । भट्टले यसअघि ‘लप्पन छप्पन र लप्पन छप्पन २’ को निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu