चलचित्र निर्माता संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग चलचित्रकर्मीका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य आकाश अधिकारीले नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई सोमबार पत्र बुझाउँदै ५ हजार कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेका हुन् ।

मन्त्री तामाङ चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन सकारात्मक रहेको अध्यक्ष अधिकारीले बताए । संघले स्वास्थ्य मन्त्रालयलाई बुझाएको पत्रमा भनिएको छ, ‘चलचित्रकर्मीले आजका मितिसम्म खोप उपभोग गर्न पाएका छैनन् । संघको ४ सय ५० सदस्यसहित अन्य संघ-संस्थाले उपलब्ध गराएको नामावलीको आधारमा ४ हजार ५ सयदेखि ५ हजार खोप उपलब्ध गराउन अनुरोध गर्दछौं ।’

निर्माता संघले कोरोना महामारीका कारण अन्य क्षेत्र जस्तै चलचित्र उद्योग पनि प्रभावित भएको र यस उद्योगमा आश्रित लाखौं श्रमजीवि चलचित्रकर्मी आर्थिक संकटमा परेको अवगत गराउँदै चाँडोभन्दा चाँडो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । चलचित्रकर्मीलाई खोपको व्यवस्था गर्न सके स्थिति सामान्य भएपछि चलचित्र क्षेत्रका गतिविधि सुचारु गर्न सकिने अध्यक्ष अधिकारीको भनाई छ ।