अभिनेत्री निशा घिमिरेका लागि चलचित्र निर्देशक समाजले आर्थिक सहयोग संकलन गरेको छ । अमेरिकामा बस्दै आएका चलचित्रकर्मीहरु सुमन दाहाल, अशोक श्रेष्ठ, किशोर सुब्बा, गोपाल चन्द्र लामिछाने, अक्की शर्मा, पवन गौतम, अनिल संग्रौला, दिनेश कार्की र पत्रकार रघुनाथ सापकोटाबाट प्राप्त नगद ५१ हजार मंगलवार निर्देशक समाजले निशाकी आमालाई हस्तान्तरण गर्यो ।

चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कार्यसमिति सदस्य देबेन्द्र पाण्डे, निर्देशक अमर ओली र चलचित्र पत्रकार संघका सचिव रघुनाथ सापकोटाले सहयोग रकम हस्तान्तरण गरेका हुन् । बिहीवारदेखि नर्भिक अस्पतालमा उपचारार्थ निशाका लागि देश तथा विदेशबाट सहयोग रकम जुटिरहेको छ । नर्भिक अस्पतालले उनको उपचार निःशुल्क गर्ने बताएको छ ।
तीन वर्ष अगाडि भारतमा सवारी दुर्घटनामा परेर निशालाई ‘ब्रेन इञ्जरी’ भएको थियो । लामो समय उनको भारतमा उपचार भए पनि अस्पतालको खर्च धान्न नसक्ने भएपछि परिवारले उनलाई एम्बुलेन्समार्फत् नेपाल ल्याएका थिए । नर्भिक अस्पतालमा भर्ना भएपछि उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनले एक चलचित्रसँगै टेलिसिरियल र म्यूजिक भिडियोमा काम गरेकी छन् ।




