सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग गर्न श्वेताले सुरु गरिन् अभियान



अविरल वर्षापछिको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो क्षति भएको छ । इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची बजारका दर्जनौं घरमा क्षतिपुगेको छ भने बजार बगरमा परिणत भएको छ । बाढीले घर भत्काएपछि पीडितहरुको सडकमा बास भएको छ । कतिपय सम्पर्कबिहीन भएका छन् । बाढीले मेलम्ची करिडोर तहसनहस भएपछि सहयोगी हातहरु जुट्न थालेका छन् ।

अभिनेत्री श्वेता खड्काले पनि सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका लागि सहयोग जुटाउन अभियान सुरु गरेकी छन् । उनले सहयोगका लागि अपिल गरेपछि केही महिनादेखि कोरोनाका विरामीलाई निःशुल्क अक्सिजन र भोकाहरुलाई खाना बाँडिरहेको संस्था हाम्रो टिम नेपालले श्वेताको अभियानमा सहकार्य गर्दै ५० थान सिरक, डस्ना लगायतका राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको छ ।

त्यस्तै, मेलम्ची बासिन्दाको पीडामा मलहम लगाउन हिमालय एयरलाइन्सका विजय श्रेष्ठले १० हजार र रमेश कुमार सापकोटाले २५ हजार सहयोग गरेको श्वेताले फेसबुकमार्फत् जानकारी दिएकी छन् । उनका अनुसार, यो रकमले खाद्य सामाग्री खरिद गरिनेछ । शुक्रवार ९भोली० राहत लिएर मेलम्ची प्रस्थान गर्ने तयारीमा रहेकी उनले सहयोग गर्न चाहनेले सम्पर्क गर्न आग्रह गरेकी छन् ।

श्वेताले फेसबुकमा लेखेकी छन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफू भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पीडालाई टुलुटुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवश्यकता हो । यही आवश्यकतालाई महशुस गरी तत्काल राहत र उद्धारको व्यवस्थापनमा आफ्नो पाइला अघि सारेकी छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu