कोरोना संक्रमण रोकथामका लागि सरकारले निषेधाज्ञा जारी गरेपछि चलचित्रमा काम गर्ने प्राविधिकहरुलाई दैनिक जीवनयापन गर्न पनि समस्या भएको छ । कतिलाई बिहान बेलुका छाक टार्न समेत समस्या रहेको खबर सञ्चारमाध्यममा आउन थालेपछि देश तथा विदेशबाट सहयोग जुटिरहेको छ । कतिले आर्थिक सहयोग गरेका छन् भने कतिले खाद्यान्न सहयोग गरेका छन् ।

कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुको जीवनयापनलाई सहज बनाउन अभिनेत्री स्वस्तिमा खड्काले सहयोग अभियान नै चलाएकी छन् । उनको अभियानमा हातेमालो गर्दै चलचित्रकर्मीसँगै विभिन्न क्षेत्रमा आबद्ध व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् । अबको केही दिनमा दयनीय अवस्थामा रहेका प्राविधिकलाई आर्थिक र खाद्यान्न सहयोग गर्ने उनको तयारी छ ।
स्वस्तिमाले बुधवार फेसबुकमा आफूले चलाएको अभियानमा जोडिएर सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद दिँदै अहिलेको समयलाई ध्यानमा राख्दै प्राविधिकहरुको घरमै पुगेर केही रकम र रासन सहयोग गर्न लागेको जानकारी दिएकी छन् । प्राविधिकहरुलाई सहयोग गर्न उनले चलाएको अभियानमा वर्षा राउत, दीपेन्द्र के. खनाल, रेश्मा घिमिरे लगायतले सहयोग गरेका छन् ।




