अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले हलिउड मेकरहरु नेपालमा चलचित्रको छायांकन गर्न आकर्षित भएको बताएका छन् । बिहीवारदेखि भर्चुअलको माध्यमबाट सुरु भएको नेपाल-अमेरिका फिल्म फेस्टिभलको शुभारम्भ गर्दै उनले आफ्नो केही हलिउड चलचित्रका निर्माताहरुसँग भेट भएको र उनीहरु नेपालमा चलचित्र खिच्न आकर्षित रहेको बताएका हुन् ।

उनले नेपाललाई हलिउड चलचित्रको छायांकन गन्तव्य बनाउन पहल गर्ने पनि बताए । उनले भने, ‘नेपाल प्राकृतिक फिल्म स्टूडियो हो । केही दिनअघि लस एन्जल्स सहरको भ्रमण गर्दा मैले केही हलिउड चलचित्रका निर्माताहरुसँग भेट गरेको थिएँ । उहाँहरु नेपालमा छायांकनको लागि आकर्षित भएको पाएँ । नेपाललाई हलिउड चलचित्रको छायांकन गन्तव्य बनाउन पहल गर्नेछु ।’
उनले आफू अर्थमन्त्री हुँदा नेपालमा चलचित्र स्टुडियो निर्माणका लागि बजेट विनियोजन गरेको पनि स्मरण गरे । त्यस्तै, मेरिल्यान्ड राज्यसभाका सदस्य ह्यारी भण्डारीले अमेरिकामा नेपाली संस्कृति र इतिहास जोगाउन आफू लागिपरेको बताउँदै नेपाल र अमेरिकको कथामा चलचित्र बनाउन सुझाएका छन् । फेस्टिभल जुन १७ देखि २० सम्म अनलाइनको माध्यमबाट चल्नेछ ।




