नेपाली चलचित्रकी सदाबहार अभिनेत्रीको रुपमा चिनिने करिश्मा मानन्धर कोरोनाका कारण जारी बन्दाबन्दीको समयमा कहिले सामाजिक काममा त कहिले प्राकृतिक सुन्दरतामा रमाइरहेको देखिन्छिन् । राजनीतिमा लागेपछि भने उनको आलोचना खुबै हुने गरेको छ । सामाजिक सञ्जालमा करिश्माले लेखेका कतिपय विषयहरू विवादित पनि बन्ने गरेका छन् ।
उनले दुई दिन अगाडि फेसबुकमा चुनावबाट चुनेर गएका प्रतिनिधिले जनताका समस्या हल गर्न के गर्दा रहेछन् त्यो हेरौं भनेकी थिइन् । जसमा धेरैले उनलाई फेसबुकमा गफ मात्र दिएर नबस्न चुनौती दिएका छन् । त्यस्तै, आइतवार उनले ‘से नो टु काबर्न’ लेख्दै सोडायुक्त पेय पदार्थ नपिउन अनुरोध गरिन् । यसमा पनि करिश्माले चर्चामा आउन रोनाल्डोको लय समातेको भन्दै आलोचना भएको छ ।

उनले मनमा लागेको कुरा लेख्दा आफूले धेरै कमेन्ट भोग्नु परेको गुनासो पोखेकी छन् । आफूले समय अनुरुप भइरहेको कुरा नै भन्ने गरेको बताउँदै उनी फेसबुकमा लेख्छिन्, ‘न मेरो कोही निकट छ, न कोही टाढा । सहीलाई सही र गलतलाई गलत भन्नु नागरिकको अभिभारा हो । यो जीवनकालमा जुन राजनीतिक अपरिपक्वता देखेँ, त्यसले गर्दा यो बोले होला । किनभने मुटु पोल्छ ।’
करिश्माले आफूलाई दर्शकले दिएको मायामा सात पुस्ता रमाउने पनि बताएकी छन् । उनी श्रीमानको बारेमा अगाडि लेख्छिन्, ‘विनोद मानन्धरको त के कुरा गरुँ, त्यो हजुरहरुले दिएको मायालाई साकार रुप दिएर सबैभन्दा अभिभावक भएर निभाउनु भएको छ ।’ आइतवार उनले सिन्धुपाल्चोकका बाढी पीडितलाई छानोको व्यवस्था गर्न एक लाख सहयोग गर्ने घोषणा गरेकी छन् ।