चलचित्र विकास कम्पनीसँग राजस्व कार्यालयले माग्यो कर विवरण, सम्पर्कमा आएनन् सञ्चालक पौडेल



आन्तरिक राजस्व कार्यालय बालाजुले बालाजुमै रहेको चलचित्र विकास कम्पनीसँग कर विवरण मागेको छ । विभागले ०७३/०७४ को करको हिसाब मागे पनि कम्पनीले कुनै जवाफ फर्काएको छैन । कार्यालयले पटक-पटक सम्पर्क गर्न खोज्दा कम्पनीका सञ्चालक उद्धव पौडेल सम्पर्कमा नआएको विभागले जनाएको छ । पौडेल गोपीकृष्ण मुभिज र ओम अस्पतालका सञ्चालक समेत हुन् ।

नेपाली फिल्म क्षेत्रको विकास गर्न २०४८ सालमा शाही नेपाली चलचित्र संस्थान स्थापना भएको थियो । पञ्चायती व्यवस्थाको अन्त्यपछि यो संस्थानको नाम चलचित्र विकास संस्थान र निजीकरणपछि चलचित्र विकास कम्पनी बन्यो । स्थापनाको समयमा संस्थानको नाममा कूल २७ रोपनी जग्गा थियो । तर, अहिले ६.७५ रोपनी मात्र छ । हराएको २० रोपनी जग्गा व्यक्तिको नाममा रहेको भन्दै लामो समयदेखि विवाद चर्किएको छ ।

तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चलचित्र विकास बोर्डको वार्षिक उत्सव कार्यक्रममा चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा व्यक्तिले कब्जा गरेको भन्दै अब पानीमुनी गए पनि नछाड्ने चेतावनी दिएका थिए । त्यसपछि बोर्डले जग्गाको छानबिन पनि गर्‍यो । तर, कम्पनी रजिष्ट्रारको कार्यालयले संस्थानको फाइल नै नभेटेको जवाफ फर्काएको थियो ।

राष्ट्रिय सञ्चार नीति, ०४९ अनुसार सरकारले चलचित्र विकास संस्थानलाई निजीकरण गर्ने व्यवस्था गरेपछि ०५० सालमा कम्पनीको बहुमत सेयर बिक्री गरियो । त्यतिबेला ५१ प्रतिशत सेयर ६ करोड ४६ लाख ६२ हजार रुपैयाँमामा बिक्री भएको थियो । बाँकी ४९ प्रतिशतमध्ये २४ प्रतिशत सेयर फिल्मकर्मी, २० प्रतिशत सर्वसाधारण र ५ प्रतिशत संस्थानकै कर्मचारीलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu