सिन्धुपाल्चोकका बाढी पीडितका लागि सहायता जुटाउन कलाकारहरु एकजुट भएका छन् । बिहीबार काठमाडौंको बत्तीसपुतलीमा आयोजित कलाकारहरुको बृहद् भेलाले ‘सिन्धु सहयोग कोष’ स्थापनाको घोषणा गर्दै आर्थिक सहयोगका लागि अपिल गरेको छ । जसमा पहिलो दिन नै ३२ लाख संकलन भएको कोषका संयोजक तथा अभिनेता कृष्ण मल्लले जानकारी दिए ।

घोषणा भएको उक्त रकम सिधै बैंक खातामा जम्मा गरिने मल्लले बताए । उनले भने, ‘कोषमा पहिलो दिनमै झण्डै ३२ लाख सहयोगको घोषणा भएको छ । केही दिनमा बैंक खाता खोल्दैछौं । जसले सहयोगको घोषणा गर्नुभएको छ उहाँहरुले रकम सिधै खातामा जम्मा गर्नुहुनेछ ।’ थप सहायताका लागि व्यापारिक घरानादेखि देश तथा विदेशका मानिससँग अपिल गरिने भएको छ ।
कोषमा करिष्मा मानन्धर, जितु नेपाल, चेतन सापकोटा, गोपालकाजी कायस्थ, जनकदीप पराजुली, किरण के.सी, सुभाष खड्का, भुवन के.सी, सुरेन्द्र के.सी, दीपाश्री निरौला, शिवहरी नेपाल, मदनदास श्रेष्ठलगायतले सहयोग गरेका छन् । कोषका कोषाध्यक्ष जितु नेपालले सिन्धुपाल्चोकको समस्यामा सबै एकजुट हुनुपर्ने बताउँदै स्वतः स्फूर्त सहयोगको अपिल गरेका छन् ।