पल शाहलाई कहिल्यै डेट गरेको थिइनँ : प्रकृति श्रेष्ठ



एक समय म्यूजिक भिडियोमा निकै जमेको जोडी हो- पल शाह र प्रकृति श्रेष्ठ । उनीहरुले एकसाथ कयौं म्यूजिक भिडियोमा काम गरेका छन् । ‘आई लभ यू, पूर्णिमाको चन्द्रमालाई, तिम्रो चन्चले रुपले, को होला त्यो ?’ लगायतका गीतमा यो जोडीको केमेस्ट्री खुब रुचाइएको थियो । तर, प्रकृति विवाह बन्धनमा बाँधिएपछि भने उनीहरुको म्यूजिक भिडियोमा सहकार्य हुन सकेको थिएन ।

निषेधाज्ञा जारी हुनुभन्दा अगाडि चलचित्र ‘बिहे पास’ को छायांकनका लागि अष्ट्रेलियाबाट नेपाल आएको समयमा प्रकृतिले पलसँग ‘को होला त्यो ?’ गीतको फिमेल भर्सनमा अभिनय गरिन्, जुन केही दिनअघि यूट्युबमा सार्वजनिक भएको छ । गीतमा उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् । उनीहरुको चार वर्षपछि म्यूजिक भिडियोमा सहकार्य भएको हो ।

एकसाथ केही म्यूजिक भिडियो र चलचित्रमा काम गरेपछि कलाकारहरुको प्रेम चर्चा चल्न सुरु हुन्छ । लगातार म्यूजिक भिडियोमा काम गरिरहँदा पल र प्रकृति पनि प्रेममा रहेको गाईंगुईं सुनिएको थियो । तर, दुवैले यसलाई नकारे । हालै इन्स्टामा एक प्रशंसकले प्रकृतिलाई ‘कहिल्यै पल शाहलाई डेट गर्नुभएको थियो ?’ भनेर सोधेका छन् । जवाफमा उनले भनेकी छन्, ‘कहिल्यै थिएन’ ।

अर्का प्रशंसकले पल शाहसँग चलचित्र गर्ने सम्भावनाबारे सोधेको प्रश्नमा उनले आउनु पर्ने त हो भन्दै अनविज्ञता प्रकट गरेकी छन् । त्यस्तै, एक प्रशंसकले पल शाहको राम्रो र नराम्रो बानीबारे जिज्ञासा राखेका छन् । जसमा प्रकृतिले पल शाहको राम्रो बानीमा सहयोगी, मिलनसार, लगनशिल, मिहिनेती, इमानदार रहेको र नराम्रो बानीमा आफू जस्तै रिसाइहाल्ने रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu