अभिनेत्री तथा भिजे सन्ध्या केसी विवाह बन्धनमा बाँधिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् विवाह गरेको जानकारी दिएकी उनले आभूषण ज्योति कंसाकारसँग शुक्रवार कानुनी रुपमा विवाह गरेकी हुन् । सन्ध्याले कानुनी रुपमा आफूहरूले विवाह गरेको भए पनि धार्मिक रुपमा विवाह गर्न बाँकी रहेको बताएकी छिन् । आभूषणसँग उनी २ वर्षदेखि प्रेममा थिइन् ।

सन्ध्याले फेसबुकमा लेखेकी छन्, ‘हामीले विवाहित जोडीको रुपमा एक सुन्दर यात्रा सुरु गर्न हात मिलाएका छौं । म आभूषणसँग विवाहको खबर सार्वजनिक गर्दा रोमाञ्चित महसुस गर्दैछु । धार्मिक रुपमा हामी एक हुन बाँकी छ, जुन हामी स्थिति सहज भएपछि गर्नेछौं । त्यतिन्जेल तपाईंहरूको स्नेह र आर्शिवाद चाहन्छौं । आजदेखि हामी एक्लै हिँड्ने छैनौं । हाम्रो हृदय हाम्रो आश्रय हुनेछ ।’
भिजेको रुपमा करिअर सुरु गरेकी सन्ध्याको डेब्यू चलचित्र ‘ड्रिम्स’ हो । यसमा उनी सहायक अभिनेत्रीको रुपमा थिइन् । थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी सन्ध्याले ‘कमलेको बिहे, पण्डित बाजेको लौरी, कथा काठमाण्डू’ लगायतका चलचित्रमा पनि अभिनय गरिसकेकी छन् । ‘कमलेको बिहे’ भने निर्माण सकिएको वर्षौं भइसके पनि प्रदर्शनमा आउन सकेको छैन ।