आकाशसँग व्यवसायिक सम्बन्ध मात्र रहेछ : पूजा शर्मा



दर्शकले रुचाएको स्क्रिन जोडी हुन्, अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ । चलचित्र ‘रामकहानी’ बाट पहिलो पटक यो जोडी पर्दामा देखिएका थिए । यसपछि उनीहरुले ‘सम्हालिन्छ कहिले मन, पोइ पर्‍यो काले, सम्झना विर्सना’ चलचित्रमा काम गरे । तर, अब यो जोडीको सम्बन्धमा दरार आएको छ । सम्भवतः उनीहरुबीच अब चलचित्रमा पनि सहकार्य हुने छैन ।

गत वर्ष लकडाउनमा पत्रकार प्रकाश सुवेदीले टेलिभिजन कार्यक्रम ‘रजतपट’ मा पूजालाई लक्षित गर्दै एउटा अभिव्यक्ति दिएका थिए, जसका कारण दुईबीच पानी बाराबारको सम्बन्ध छ । तर, पूजाका विश्वासका पात्र मानिने आकाशले उनै पत्रकार प्रकाश सुवेदीसँग हात मिलाएका छन् । जसका कारण पूजा र आकाशको व्यवसायिक र व्यक्तिगत सम्बन्धमा पूर्णविराम लागेको छ ।

गएको हप्ता रजतपट टिमले राजधानीको एक बाल गृहमा खाना खुवाउने कार्यक्रममा आकाश सहभागी भएका थिए । जुन व्यक्तिबाट आफूले नराम्रो शब्द सुन्न परेको थियो, उसैको नेतृत्वमा सुरु भएको अभियानमा आकाश जोडिँदा पूजा आहत भएकी छन् । उनलाई महशुस भएको छ, ‘आकाशसँग त व्यवसायिक सम्बन्ध मात्र स्थापित भएको रहेछ । एकतर्फी मित्रता मात्र रहेछ ।’

हालै एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘फोटो देखेपछि म जसरी विवादको बेला तर्सिएको थिएँ, उसैगरी तर्सिएँ । मलाई त्यो घटनाले टर्चर नै भएको थियो । तर, आकाशले त्यो पनि नसोचेको देखेपछि मेरो एकतर्फी मित्रता रहेछ भन्ने महशुस भयो । ऊसँग व्यवसायिक सम्बन्ध मात्र रहेछ । म ६ महिना रोएको उसले देखेको छ । त्यो देखेर पनि आकाश त्यहाँ जाँदा मन दुखिहाल्छ नी ।’

आकाशसँग आफ्नो कहिल्यै प्रेम सम्बन्ध नभएको पनि उनले स्पष्ट पारेकी छन् । उनी भन्छिन्, ‘हामी असल साथी हौं । आज पनि र भोली पनि । एकसाथ धेरै फिल्म र म्यूजिक भिडियोमा काम गरेकाले म ऊसँग अलि बढी नजिक छु । तर, हामीबीच कहिल्यै प्रेम सम्बन्ध थिइनँ । दर्शकले हाम्रो जोडी चाहिँ मन पराउनु भएको हो । तर, आकाशसँग लभ गर्छु र बिहे गर्छु भनेर कहिल्यै सोचिनँ ।’

उनले आकाशसँग आफ्नो स्वभाव पनि नमिल्ने बताएकी छन् । ‘ऊ निकै कम बोल्छ, म धेरै बोल्छु । उसको रिजर्भ बस्ने बानी छ, म मनमा लागेका कुरा भलिहाल्छु । चलचित्रमा सँगै काम गर्दा र साथीको रुपमा हामी ठिक छौं तर पर्सनल लाइभमा ऊसँग प्रेम र विवाहको बारेमा कहिल्यै सोचेको छैन,’ उनले भनिन् । अब आकाशसँग मिलेर अगाडि बढ्ने सम्भावना नरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu