नेपाली चलचित्रमा अभिनेता राजेश हमालको क्रेज उच्च रहेको समयमा धिरेन शाक्यले चलचित्र ‘पहिलो प्रेम’ बाट नायकको रुपमा डेब्यू गरेका थिए । यस चलचित्रमा उनले गरेको काम निकै रुचाइयो । उनी पहिलो चलचित्रबाट नै सबैको रोजाईमा परे । उनको उदयपछि निर्माता/निर्देशकले राजेश हमालको विकल्प भेटेका थिए । त्यसबेला उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी समेत भनिथ्यो ।
दुवै करिअरको उत्कर्षमा रहँदा निर्देशक युवराज लामाले हमाल र शाक्यलाई लिएर चलचित्र ‘प्रतिज्ञा’ बनाए । उनीहरुले एकसाथ अभिनय गरेको यो नै पहिलो चलचित्र हो । चलचित्र जबरजस्त हिट भयो । यसपछि यी दुईले ‘भीष्म प्रतिज्ञा, सीमाना, अंग रक्षक, माया बैगुनी’ लगायत धेरै चलचित्रमा काम गरे । उनीहरुको जोडीलाई दर्शकले पर्दामा निकै रुचाउने गरेका थिए ।

तर, २०५१ सालमा धिरेनले एक पत्रिकासँगको अन्तर्वार्तामा ‘राजेश हमाललाई चिन्दिनँ’ भनेर अभिव्यक्ति दिए । खासमा निर्माताको आग्रहमा चलचित्रको प्रचारको लागि उक्त फण्डा गरिएको थियो । तर, जब अन्तर्वार्ता छापियो, अर्थको अनर्थ लाग्यो । दर्शक र चलचित्रकर्मी उनीमाथि खनिए । उनका चलचित्र बहिष्कार गर्नेसम्मका कुरा उठे । जसले गर्दा उनको करिअर नै संकटमा पर्यो ।
यो घटनाको अझै पनि चर्चा हुने गरेको छ । धिरेनले वर्षौंदेखि चलचित्रको प्रचारको लागि उक्त कुरा फण्डाको रुपमा तयार गरिएको स्पष्टिकरण दिँदै आएका छन् । हालै ठूलोपर्दा टिभीसँगको कुराकानीमा उनले आफ्नो कुरालाई गलत रुपमा बुझिएको बताए । उनी भन्छन्, ‘मैले चलचित्रको प्रचारका लागि फण्डाको रुपमा त्यसो भनेको थिएँ । तर, त्यसलाई गलत रुपमा बुझियो, जुन सत्य होइन ।’
उनी अगाडि भन्छन्, ‘हामी दुवैको जन्मथलो पाल्पा हो । हामीले कयौं चलचित्रमा एकसाथ काम गरेका छौं । अनि मैले उसलाई चिन्दिनँ भनेर कसरी भन्न सक्थेँ र ? मैले फण्डाका लागि भनेको कुरालाई गलत रुपमा बुझिएको मात्र हो ।’ चलचित्र ‘सीमाना’ को एक एक्सन सिनको सुटिङमा भने गल्तीले राजेश हमाललाई मुक्का लागेको र त्यसैबेला आफूले माफी मागेको उनी सम्झन्छन् ।
त्यो घटनाले आफ्नो करिअरमा धक्का पुगेको मान्न पनि उनी तयार छैनन् । उनी भन्छन्, ‘मैले वास्तवमै गल्ती बोलेको भए करिअरमा धक्का लागेको महशुस गर्थे होला । तर, त्यो त फण्डाका लागि भनिएको थियो । त्यसैले यो कुराले करिअरमा असर गरेको भन्ने मान्दिनँ ।’ उनले राजेशसँग कहिल्यै सम्बन्ध नबिग्रिएको र चलचित्रका कार्यक्रममा भेट हुँदा बोलचाल हुने गरेको बताए ।
धिरेन शाक्यसँग गरिएको अन्तर्वार्ता हेर्नुहोस् :-