अभिनेत्री स्वस्तिमा खड्का आइतवारबाट २६ वर्षमा प्रवेश गरेकी छन् । उनको जन्म २०५२ साल असार २० गते काठमाडौंमा भएको हो । कोरोनाका कारण लामो समयदेखि घरभित्रै सीमित रहेकी उनले यसपटकको जन्मदिन काठमाडौंको एक बाल आश्रममा मनाएकी छन् । उनले त्यस आश्रमलाई खाद्यान्न सहयोग गर्दै त्यहाँ आश्रित बालबालिकासँग जन्मदिनको केक पनि काटिन् ।
स्वस्तिमाले चलचित्र ‘होस्टेल रिर्टन्स’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । यसमा उनी सहायक अभिनेत्रीको रुपमा थिइन् । त्यसयता उनले ‘लभ लभ लभ, छक्का पन्जा २, जय भोले, नाई नभन्नू ल ५, हजार जुनीसम्म, बुलबुल, घामड शेरे’ लगायतका चलचित्रमा काम गरिसकेकी छन् । यसमध्ये उनको करिअरको सबैभन्दा उत्कृष्ट चलचित्रको रुपमा ‘बुलबुल’ लाई लिने गरिन्छ ।

यो चलचित्रबाट कयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेकी उनी अहिलेकी सर्वाधिक चल्ती र महंगी अभिनेत्रीमध्ये एक हुन् । डेब्यू चलचित्रमा १५ हजार पारिश्रमिक पाएकी उनले निषेधाज्ञाभन्दा अगाडि छायांकन सकिएको चलचित्र ‘चिसो मान्छे’ मा १८ लाख पारिश्रमिक बुझेकी थिइन् । नेपाली चलचित्रमा यति ह्यान्डसम पारिश्रमिक पाउने अभिनेत्री औंलामा गन्न सकिने मात्र छन् ।
उनी २० वर्षको उमेरमा निर्देशक निश्चल बस्नेतसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । उनको करिअरले विवाहपछि नै गति लिएको थियो । नेपाली चलचित्रमा आफूलाई सफल अभिनेत्रीको रुपमा उभ्याइसकेकी उनी अब चलचित्रको निर्देशन गर्न चाहन्छिन् । तर, यसका लागि पहिला राम्रो देशमा गएर चलचित्र मेकिङ पढ्ने उनको योजना छ । उनी व्यवसाय पनि सुरु गर्ने सोचमा छिन् ।


