कोभिडपछि वैकल्पिक व्यवसायतर्फ दीवाकर र दीपिका



कोरोना महामारीपछि थुप्रै कलाकारले वैकल्पिक व्यवसाय रोजिरहेका छन् । कसैले क्याफे खोलेका छन् त कसैले इकमर्स व्यवसायमा हात हालेका छन् । चलचित्र निर्देशक दीवाकर भट्टराई र उनकी श्रीमती तथा अभिनेत्री दीपिका प्रसाईँले पनि वित्तिय सहकारी व्यवसाय सुरु गरेका छन् । विहीबार ललितपुर कुमारीपाटीमा हिमालयन बहुउद्देश्यीय सहकारीको आउटलेट शुभारम्भ गरियो ।

यो सहकारीको म्यानेजमेन्ट टिममा दीवाकर र दीपिका दुवै रहेका छन् । अब यो जोडी मनोरञ्जन क्षेत्र चलायमान नहुँदासम्म सहकारीमै व्यस्त हुनेछ । कोरोना महामारीपछि अन्य व्यवसायलाई पनि अगाडि बढाउनुपर्छ भन्ने सोचले सहकारी व्यवसाय सुरु गरेको दीवाकर बताउँछन् । उनी चाँडै केक बेकरी र क्याफे पनि खोल्ने तयारीमा छन् । जसका लागि उनी ठाउँको खोजीमा छन् ।

वैकल्पिक व्यवसाय सुरु गर्नुको कारणबारे दीवाकर भन्छन्, ‘कोरोनाका कारण चलचित्र क्षेत्र डेढ वर्षदेखि बन्द छ । अब कहिलेदेखि छायांकन सुरु हुन्छ, कुनै टुंगो छैन । त्यसैले अन्य व्यवसायलाई पनि अगाडि बढाउनुपर्छ भन्ने लागेर सहकारी सुरु गर्‍यौं । चाँडै केक बेकरी र क्याफेको आउटलेट पनि सुरु गर्ने तयारीमा छौं । अब चलचित्र र व्यवसायलाई एकसाथ लिएर जानेछौं ।’

निषेधाज्ञाभन्दा अगाडि उनी चलचित्र ‘तिमीसँगै हुने मन छ’ को निर्माण र निर्देशन गर्ने तयारीमा थिए । चलचित्रका लागि मुख्य नायकमा अनुबन्ध भएका भारतीय कलाकार रोहित सुचान्तीसहितको टिम नेपाल आइसकेको थियो । भारतबाट छायांकारदेखि कोरियोग्राफरसम्मको टिम पनि नेपाल आउने तयारीमा थियो । तर, कोरोनाको दोस्रो लहर सुरु भएपछि चलचित्रको छायांकन सुरु हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu