सिन्धुपाल्चोकका बाढी पीडितको पीडामा मलहम लगाउन अभिनेता राजेश हमाल अगाडि सरेका छन् । सोमवार राहत बाँड्ने उद्देश्यले सिम्रिक एयरको हेलिकप्टरमा सवार भएर हेलम्बु र पाँचपोखरी पुगेका उनलाई स्थानीयहरुले भव्य स्वागत गरेका थिए । बाढी पीडितको अवस्थाबारे जानकारी लिँदै उनले त्यहाँका बाढी प्रभावितलाई सोलार, स्वास्थ्य सामाग्री र नगद पनि सहयोग गरे ।

हेल्प अर्गनाइजेसन र विआइए संस्थाको सहकार्यमा राहत बाँड्न हमाल सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र पुगेका हुन् । उनले सामाजिक सञ्जालमा बाढी प्रभावित क्षेत्रको अवलोकन र राहत वितरणका तस्विरहरु शेयर गरेका छन् । ढिलो गरी भए पनि बाढी पीडितका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेकोमा उनलाई सामाजक सञ्जालमा शुभचिन्तकहरुले धन्यवाद भनेका छन् ।

कतिपयले भने राहत सामाग्रीभन्दा महंगो भाडा तिरेर हेलिकप्टरमा गएको भन्दै राजेश हमालको आलोचना गरेका छन् । तर, बाढीले हेलम्बुसँग जोड्ने सडक सञ्जाल क्षतविच्छेद भएकाले उनी हेलिकप्टरको माध्यमबाट त्यहाँ पुगेका हुन् । गत वर्ष कोरोनाका कारण जारी लकडाउनको समयमा उनले समस्यामा परेका चलचित्रका प्राविधिकहरुलाई पनि राहत सामाग्री वितरण गरेका थिए ।




