फेरि मिले पूजा र आकाश



चलचित्र क्षेत्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मित्रतालाई उदाहरणको रुपमा लिने गरिन्छ । सम्भवतः चलचित्र क्षेत्रमा उनीहरु जस्तो मिल्ने नायक-नायिका अरु छैनन् । उनीहरुबीच व्यवसायिक सहकार्य मात्र नभइ व्यक्तिगत रुपमा समेत निकै बलियो सम्बन्ध छ । पहिलो पटक चलचित्र ‘रामकहानी’ मा एकसाथ काम गरेपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए ।

यो जोडीले एकअर्कालाई जति विश्वास चलचित्र क्षेत्रमा अरुलाई गर्दैन । तर, भनिन्छ छ नि नठोसी अगुल्टो बल्दैन । तसर्थ, जुनसुकै सम्बन्धमा बेलाबेलामा सामान्य ठाकठुक नराम्रो होइन । पूजा र आकाशको सम्बन्धमा पनि विचार नमिलेर सामान्य ठाकठुक परिरहेकै हुन्छ । जसका कारण उनीहरु महिनौंसम्म बोल्दैनन् पनि । तर, केही समयमा सबै कुरा विर्सिएर फेरि मिलिहाल्छन् ।

तर, उनीहरुबीच यसपटकको ठाकठुक भने ठूलै कारणले भएको थियो । गत वर्षको लकडाउनमा टेलिभिजन कार्यक्रम ‘रजतपट’ का सञ्चालक प्रकाश सुवेदीले पूजालाई लक्षित गरेर एउटा अभिव्यक्ति दिएका थिए । जसका कारण पूजा लामो समय मानसिक द्वन्द्वबाट गुज्रनु पर्‍यो । उनकै कुरा विश्वास गर्ने हो भने ६ महिना उनले रोएरै विताएकी थिइन् । जसका साक्षी आकाश स्वयं थिए ।

यसपालीको निषेधाज्ञामा भने पूजाले जुन कार्यक्रमबाट आफू अपमानित भएको महशुस गरेकी थिइन्, त्यही कार्यक्रमले सुरु गरेको अभियानमा आकाश जोडिए । अर्थात्, उनले प्रकाश सुवेदीसँग हात मिलाए । जब पूजाले आकाश ‘रजतपट’ को अभियानमा जोडिएर राहत बाँडेको फोटो यत्रतत्र देखिन् तब उनी आकाशबाट झरेझैँ भइन् । किनकि, यो उनले कल्पना गरेको कुरा थिएन ।

आकाशको यो व्यवहारले पूजा कतिसम्म दुखी भएकी थिइन् भने उनी अब एकसाथ काम नगर्ने निर्णयमा पुगेकी थिइन् । उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘आकाशसँग व्यवसायिक सम्बन्ध मात्र स्थापित भएको रहेछ । ऊसँग एकतर्फी मित्रता मात्र रहेछ । अब हामीबीच सहकार्य हुने सम्भावना न्यून छ ।’ त्यसबेला पूजाले आकाशसँग प्रेम सम्बन्ध नरहेको पनि स्पष्ट पारेकी थिइन् ।

उनको यो बयानपछि मिडियामा पूजा र आकाशको जोडी टुटेको दाबीसहितका समाचार बने । दुईलाई एक भएको हेर्न चाहने दर्शकहरु बाँडिए । जोडी फुटेको खबरले रिलिजको पखाईमा रहेका चलचित्रका निर्माताको भोक-निन्द्रा उड्यो । उनीहरुलाई लिएर चलचित्र बनाउने सोचमा रहेका निर्माता/निर्देशक पनि हच्किए । तर, फुटको संघारमा पुगेको यो जोडीको फेरि मिलन भएको छ ।

संगीतकार अर्जुन पोखरेलले बिहीवार फेसबुकमा राखेको पूजा र आकाशसँगको तस्विरले उनीहरुबीच मिलाप भएको बुझ्न सकिन्छ । पोखरेलले नयाँ कामको तयारीका लागि भेट भएको र चाँडै छायांकनमा जाने उल्लेख गरेका छन् । यसको मतलब दर्शकले फेरि यो जोडीलाई स्क्रिनमा हेर्न पाउनेछन् । पूजा र आकाश छुटेको कुराले दुखी भएका दर्शक उनीहरु मिलेपछि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu