अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । बिहीवार साँझ ९ बजे काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा उनी झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड नोट’ समेत भेटाएको छ । उनले आत्महत्याको बाटो रोज्नुको कारण डिप्रेसन रहेको बताइएको छ ।

जेनी भान्सा कोठामा नाइनलको डोरीमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनी सनराइज सिटी अपार्टमेन्टको तेस्रो तल्लामा श्रीमानको साथमा बस्दै आएकी थिइन् । उनले एक वर्षदेखि डिप्रेसनको औषधी सेवन गरिरहेको जेनीका श्रीमान मानबहादुरले प्रहरीसँगको सोधपुछमा भनेका छन् । ६ महिना उनी विपश्यना ध्यान शिविरमा समेत बसेकी थिइन् ।
जेनीले चलचित्र ‘जिन्दगानी’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । त्यसयता ‘मैदान, जीननदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’ लगायत थुप्रै चलचित्रमा काम गरेकी उनी केही वर्षयता अभिनयबाट निस्क्रिय जस्तै थिइन् । पछिल्लो समय उनले अधिकांश समय पशुपति परिसरमा विताउने गरेकी थिइन् । उनको निधनप्रति चलचित्रकर्मीले शोक व्यक्त गरेका छन् ।




