हिरोइन बन्न परिवारसँग विद्रोह गरेकी जेनी



अभिनेत्री जेनी कुँवर बिहीवार साँझ आफू बस्ने काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा मृत फेला परिन् । उनी भान्सा कोठामा झुन्डिएको अवस्थामा भेटिएकी हुन् । उनले आत्महत्या गर्नुको कारण डिप्रेसन रहेको प्रहरीले जनाएको छ । उनले विगत एक वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएकी थिइन् । उनी ६ महिना विपश्यनामा समेत बसेकी थिइन् ।

को हुन् जेनी कुँवर ?

जेनीले उज्जवल घिमिरे निर्मित तथा निर्देशित चलचित्र ‘जिन्दगानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । तर, उनले चलचित्रमा आउनुभन्दा अगाडि एउटा नाटकमा अभिनय गरेकी थिइन् । त्यसपछि केही चलचित्रमा कोरस डान्सरको रुपमा काम गरिन् । ‘जिन्दगानी’ मा पनि उनी पहिला कोरस डान्सर थिइन् । तर, पछि निर्देशक घिमिरेले उनको जोडी अभिनेता हमालसँग बाँधे ।

गत वर्ष एक अन्तर्वार्तामा उनले आफ्नो करिअरको बारेमा भनेकी थिइन्, ‘म सिधै चलचित्रमा आएको होइन । पहिला नाटक गरेको थिएँ । त्यसपछि केही चलचित्रमा कोरस डान्सरको रुपमा काम गरेँ । ‘जिन्दगानी’ मा पनि म कोरसको रुपमा थिएँ । तर, निर्देशक उज्जवल घिमिरे सरले मेरो सुन्दरता देखेर चलचित्रमा राजेश हमालको गर्लफ्रेन्डको भूमिकामा अभिनय गर्ने अवसर दिनुभयो ।’

अभिनय उनको सौख थियो । तर, परिवारबाट उनलाई चलचित्रमा अभिनय गर्न अनुमति थिएन । न त चलचित्र क्षेत्रमा उनका कोही आफन्त नै थिए । उनले विगत सम्झँदै भनेकी थिइन्, ‘मेरो घरका कोही चलचित्र क्षेत्रमा थिएनन् । मैले चलचित्र खेलेको पनि कसैले मन पराउँदैन थिए । मैले परिवारसँग विद्रोह गरेर चलचित्रमा आएकी हुँ ।’ उनले ‘घायल र हलचल’ नामक चलचित्र पनि बनाएकी छन् ।

तर, चलचित्र बनाउँदा हलवाला र वितरकले दिएको सास्ती र यातना उनले कहिल्यै विर्सिएकी थिइनन् । उनी भन्थिन्, ‘मैले विना कसैको सहारा चलचित्र बनाएको थिएँ । तर, हलवालाले मलाई धेरै पीडा र यातना दिन्थेँ । आफ्नो पैसा लगाएर बनाएको चलचित्र चलाउन हलवालाको खुट्टा ढोग्नु पर्थ्यो । चलचित्र चलाउन गुण्डा किन्नु पर्थ्यो । चलचित्र क्षेत्रमा जति राजनीति त देशमा पनि हुँदैन ।’

‘मैदान, जीवनदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’ लगायत तीन दर्जनभन्दा बढी चलचित्रमा काम गरेकी जेनी केही वर्षयता अभिनयमा सक्रिय थिइनन् । लकडाउनको समयमा उनले निर्माण र अभिनय गरेको चलचित्र ‘घायल’ को ‘माया गर मायालु’ गीत टिकटकमा हिट भएको थियो । चलचित्रबाट प्रस्ताव आउन छाडेपछि पछिल्लो समय उनी आध्यात्ममा लागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu