सुटिङ सेटमा फर्किने प्रतिक्षामा आना



कोरोना महामारीका कारण चलचित्र निर्माण ठप्प हुँदा कलाकारहरु फुर्सदिला भएका छन् । गत वर्ष लकडाउन अन्त्यपछि केही कलाकार काममा फर्किए । तर, दोस्रो चरणको महामारीपछि फेरि उनीहरु घरमै सीमित भएका छन् । संक्रमण दर घटेको भन्दै निषेधाज्ञा खुकुलो भएसँगै यतिबेला म्यूजिक भिडियोको छायांकन भइरहेका छन् । तर, चलचित्रको छायांकन सुरु हुन सकेको छैन ।

निषेधाज्ञाभन्दा अगाडिसम्म चलचित्रमा काम गरिरहेका कलाकारलाई दुई महिना कामविहीन भएर बस्नुपर्दा त छट्पटी भएको छ भने तीन वर्षदेखि सुटिङ सेट समेत नदेखिएकी अभिनेत्री आना शर्मालाई झन् कति उकुसमुकुस भएको हुँदो हो ? सुटिङ सेटको कति याद आउँदो हो ? २०७५ सालमा रिलिज भएको चलचित्र ‘द म्यान फ्रम काठमान्डू’ पछि उनले चलचित्रमा काम गरेकी छैनन् ।

अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘जेरी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले दोस्रो चलचित्रको रुपमा ‘ग्यांगस्टार ब्लूज’ मा काम गरेकी थिइन् । डेब्यू चलचित्रबाहेक अरु चलचित्रबाट निराशा हात पारेकी उनले गत वर्ष प्रवेश पौडेलले निर्देशन गर्ने एक चलचित्र साइन गरेकी थिइन् । चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता मनिष राउत पनि अनुबन्ध भएका थिए ।

तर, कलाकार फाइनल भएको एक वर्ष नाघिसक्दा पनि सुटिङ सुरु हुन सकेको छैन । निर्माता अनुप पौडेलले कात्तिकपछि सुटिङ सुरु हुने बताए । अहिले निर्माण टिम स्क्रिप्टलाई पूर्णता दिन व्यस्त छ । हालै निर्माता पौडेलले स्क्रिप्टमा छलफल गर्न आनासँग भेट गरेका थिए । उक्त भेटको तस्विर इन्स्टाग्राम स्टोरीमा शेयर गर्दै आनाले काममा फर्किन आफू आतुर रहेको उल्लेख गरेकी छन् ।

अभिनेत्री शर्माले लेखेकी छन्, ‘सेटमा फर्किन र अनुप पौडेलसँग साथमा काम गर्न अब प्रतिक्षा गर्न सक्दैनँ ।’ उनी काममा फर्किन कतिसम्म आतुर छिन् भन्ने कुरा यसबाट पनि बुझ्न सकिन्छ । चलचित्रको मेरुदण्ड स्क्रिप्ट भएकाले हतारमा छायांकन गर्न नचाहेको निर्माता पौडेलले बताएका छन् । कोरोना महामारीका कारण पनि चलचित्रको काममा ढिलाई भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu