बेलाबखतमा कलाकारहरु विभिन्न गलत हल्लाको शिकार बन्नुपरेको हुन्छ । केही दिनयता गर्भवती भएको खबरले अभिनेत्री आँचल शर्मालाई हैरान बनाएको छ । उनी स्वयंले आमा बन्न लागेको कुराको खुलासा गरेको दाबीसहित केही अनलाइन पोर्टलहरुले समाचार छापेका छन् । उनले यस विषयमा स्पष्टिकरण दिँदै फेक न्यूजबाट टाढा रहने आफ्ना प्रशंसकलाई आग्रह गरेकी छन् ।

उनले शनिवार साँझ इन्स्टाग्राममा लेखेकी छन्, ‘हालै, मेरो प्रेग्नेन्सीको बारेमा कयौं खबर आए जुन खबर सुनेर म चकित छु । पक्कै पनि, नक्कली समाचारले सबैको ध्यान आकर्षित गर्छ । तर, म के स्पष्ट पार्न चाहन्छु कि केही राम्रा कारणले गर्दा यो खबर सुन्नका लागि अझै केही वर्ष प्रतिक्षा गर्नुपर्नेछ ।’ आँचलले आफू आमा बन्ने भएपछि पहिलो खबर नै आफूले सुनाउने बताएकी छन् ।

अघिल्लो वर्ष डा. उदिप श्रेष्ठसँग बैबाहिक जीवनमा बाँधिएकी आँचल निषेधाज्ञाको समयमा ११ दिनसम्म विपश्यनामा बसेकी थिइन् । विपश्यना ध्यान शिविरबाट फर्किएपछि उनले आफूमा धेरै परिवर्तन आएको महशुस गरेकी छन् । अब उनी कोरोना महामारी अन्त्य भएपछि श्रीमानसँग मिलेर चलचित्र निर्माणको तयारीमा छिन् । चलचित्रको निर्देशन मिलन चाम्सले गर्नेछन् ।




