गएको हप्ता अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडी अलग भएको खबर मिडिया र सोसल मिडियामा छ्यापछ्याप्ती भएको थियो । आफ्नो अपमान गरेको पत्रकार (प्रकाश सुवेदी) सँग आकाशले हात मिलाएको भन्दै पूजाले चित्त दुखाएकी थिइन् । उनले आकाशसँग व्यवसायिक सम्बन्ध मात्र स्थापित भएको र अब सहकार्य नहुने भन्दै अन्तर्वार्ता समेत दिन भ्याएकी थिइन् ।
तर, श्रीमान श्रीमतीको झगडा परालको आगो भनेझैँ पूजा र आकाशको झगडा पनि केही दिनमै साम्य भयो । आकाशले आफू प्रकाश सुवेदीसँग नमिलेको भन्दै पूजालाई सम्झाएपछि उनीहरुबीच मिलन भएको स्रोत बताउँछ । झगडा मिलेपछि यो जोडीले संगीतकार अर्जुन पोखरेलको एक गीतमा अभिनय गरिसकेको छ । चाँडै अरु गीतमा पनि अभिनय गर्ने तयारीमा उनीहरु छन् ।

हालै एक अन्तर्वार्तामा आकाशले पूजासँग सम्बन्ध नविग्रिएको दाबी गरे । उनले भनेका छन्, ‘हामी हरेक दिन बोलिरहेकै हुन्छौं । मिडियामा कसरी बोलचाल बन्द भएको कुरा आयो मलाई थाहा छैन । केही दिनअघि हामी भेटेको तस्विर पनि बाहिर आएको थियो । एकसाथ काम पनि गरिरहेका छौं । बाहिरको हल्लाले गर्दा हाम्रो व्यक्तिगत सम्बन्ध कहिल्यै बिग्रदैन र बिग्रनु पनि हुँदैन ।’
उनले आफू ‘रजतपट’ टिमसँग मिलेर राहत वितरणमा सहभागी नभएको पनि स्पष्ट पारे । उनले अगाडि भने, ‘म आफ्नै एउटा टिमसँग बालबालिकालाई खाना खुवाउन र सहयोग गर्न गएको थिएँ । त्यहाँ ‘रजतपट’ टिमले पनि सहयोग गर्ने कुरा रहेछ । सहयोग गर्ने क्रममा एकसाथ भएकाले ‘रजतपट’ टिमसँग मिलेको भन्ने देखिएको हुनसक्छ । तर, म आफ्नै टिमसँग गएको थिएँ ।’




