म्यूजिक भिडियोमा व्यस्त हुन थाले कलाकार



कोरोना संक्रमण घट्दै गएको भन्दै सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि म्यूजिक भिडियो धमाधम निर्माण भइरहेको छ । चलचित्रको छायांकन सुरु हुने अनिश्चित हुँदा कलाकारहरुले पनि ढुक्कसँग म्यूजिक भिडियोलाई समय दिइरहेका छन् । एकैदिनमा छायांकन सकिने र पारिश्रमिक पनि राम्रो पाइने हुँदा म्यूजिक भिडियोप्रति चलचित्रका कलाकारको आकर्षण बढ्दो छ ।

कोरोना महामारीभन्दा अगाडि अभिनेता राजेश हमाललाई म्यूजिक भिडियोमा खेल्ने फुर्सद नै हुँदैन थियो । देश तथा विदेशमा हुने सांस्कृति कार्यक्रम र टिभी शोले गर्दा उनले म्यूजिक भिडियो खेल्ने प्रस्ताव स्वीकार गर्दै आएका थिए । तर, लकडाउनपछि त उनले म्यूजिक भिडियो खेलेर रेकर्ड नै राखे । लकडाउन अन्त्यपछि उनले झण्डै एक दर्जन म्यूजिक भिडियोमा अभिनय गरे ।

गएको बैशाखबाट उनी चलचित्र ‘सत्यम्’ को छायांकनमा व्यस्त हुने तयारीमा थिए । चलचित्रका लागि उनले आफ्नो गेटअप परिवर्तनमा खुब मिहिनेत गरेका थिए । तर, कोरोनाको दोस्रो चरणको महामारीले चलचित्र छायांकनमा निस्कन सकेन । चलचित्रको काम सुरु भएपछि म्यूजिक भिडियो नखेल्ने बताएका हमाल निषेधाज्ञा खुकुलो भएसँगै फेरि म्यूजिक भिडियोमा फर्किएका छन् ।

सोमवार अजय कार्कीको आवाजमा रहेको ‘हामी देश बचाउँ’ बोलको देशभक्ति गीतमा हमालले अभिनय गरेका छन् । योसँगै उनले केही म्यूजिक भिडियोमा पनि काम गर्ने पक्का भएको बुझिएको छ । उनलाई म्यूजिक भिडियोमा खेलाउन निर्माताहरुले एक लाखसम्म तिर्ने गरेको बजारमा चर्चा छ । तर, लकडाउनयता उनले अभिनय गरेका गीतको म्यूजिक भिडियो खासै चलेका छैनन् ।

म्यूजिक भिडियोमा सबैभन्दा बढी खोजिने मोडल हुन्, पल शाह । म्यूजिक भिडियोबाटै करिअर सुरु गरेका कारण उनले चलचित्रभन्दा बढी प्राथमिकता म्यूजिक भिडियोलाई दिने गरेको पाइन्छ । यूट्युबमा उनले अभिनय गरेका भिडियोले भ्यूजको खडेरी भोग्नु नपर्ने विश्वास गायक, गायिका तथा संगीतकारमा छ । यसैले त हरेक म्यूजिक भिडियो मेकरको पहिलो रोजाईमा उनी छन् ।

लकडाउनअघि चलचित्र ‘दुई नम्बरी’ को छायांकन गरिरहेका उनी लकडाउन अन्त्यपछि १७/१८ घन्टासम्म म्यूजिक भिडियोमा व्यस्त हुन थालेका थिए । त्यसबेला उनले म्यूजिक भिडियो गरेरै एक करोडभन्दा बढी छापे र काठमाडौंमा जग्गा पनि किने । निषेधाज्ञा खुलेसँगै फेरि उनको व्यस्तता म्यूजिक भिडियोमा ह्वात्तै बढेको छ । उनले दिनहुँ म्यूजिक भिडियोको छायांकन गरिरहेका छन् ।

अभिनेता पुष्प खड्का पनि अहिले म्यूजिक भिडियोमा व्यस्त छन् । उनले केही दिनमै दुईवटा म्यूजिक भिडियोको छायांकन गरिसकेका छन् । चलचित्रको काम सुरु नहुँदा वर्षा राउत, नीता ढुंगाना, आकाश श्रेष्ठ, पूजा शर्मा लगायतका कलाकार पनि यतिबेला म्यूजिक भिडियोमा व्यस्त बनेका छन् । पछिल्लो समय कलाकारलाई म्यूजिक भिडियो आम्दानीको राम्रो स्रोत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu