ऋचा शर्मा : चरित्रमा डुब्ने अभिनेत्री



अभिनेत्री ऋचा शर्मा शुक्रवार आफ्नो जन्मदिन मनाउँदैछिन् । २०४४ साल साउन १ गते धनगडीमा जन्मिएकी उनी ३४ वर्षमा लागेकी छन् । उनको बाल्यकाल कैलाली जिल्लामै वितेको थियो । अभिनयमा आउनुअघि उनले सन् २००७ मा मिस नेपाल प्रतियोगितामा भाग लिएकी थिइन् । त्यहाँ उत्कृष्ट दशभित्र परेकी उनले चलचित्र ‘फस्ट लभ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् ।

आफ्नो एक दशक लामो करिअरमा उनले ‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘सुनकेशरी’, ‘भिसा गर्ल’, ‘बाटो मुनिको फूल २’, ‘उमा’, ‘कोहलपुर एक्सप्रेस’, ‘आधा लभ’ लगायतका चलचित्रमा काम गरिसकेकी छन् । प्रदर्शनको पखाईमा भने चलचित्र ‘हिजो आजका कुरा’ छ । उनी अभिनयसँगै चलचित्र निर्माणमा पनि सक्रिय छिन् । ‘भिसा गर्ल, आधा लभ, सुनकेसरी’ चलचित्र उनैले बनाएकी हुन् ।

लभस्टोरी चलचित्रबाट अभिनय करिअर सुरु गरे पनि ऋचाले हरेक चलचित्रमा भिन्न चरित्र र अभिनयमा विविधता पस्किएकी छन् । ‘टलकजंग भर्सेस टुल्के, उमा, को आफ्नो’ चलचित्र यसका उदाहरण हुन् । जसमा उनको भिन्न गेटअप र चरित्र थियो । यी चलचित्रले उनलाई एक अब्बल कलाकारको रुपमा स्थापित गरेको छ । विशेषतः उनी फरक धारका चलचित्र गर्न रुचाउँछिन् ।

ऋचाको करिअरको सम्झनलायक चलचित्रको रुपमा ‘टलकजंग भर्सेस टुल्के’ लाई लिने गरिन्छ । यो चलचित्रबाट उनले नेपालको प्रथम राष्ट्रपति रामवरण यादवको हातबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जित्न सफल भएकी थिइन् । उनी स्वयं पनि आफ्नो करिअरको उत्कृष्ट चलचित्र ‘टलकजंग’ लाई मान्छिन् । निश्चल बस्नेत निर्देशित चलचित्रमा उनी थारु महिलाको भूमिकामा थिइन् ।

तीन वर्षअघि चलचित्र ‘छक्का पञ्जा’ को एक सिनलाई लिएर एक कार्यक्रममा आपत्ति जनाएपछि विवादमा समेत तानिएकी उनलाई दीपकराज गिरी समुहले ‘फ्लप हिरोइन’ को संज्ञा दिएको थियो । अहिले उनी ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको जज प्यानलमा छिन् । चलचित्र क्षेत्रमा एक दशक विताएपछि २०७६ मंसिरमा दिपेक्ष राणासँग लगनगाँठो कसेकी ऋचा यसै वर्ष आमा बन्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu