कोरोनाका कारण बन्द रहेका क्षेत्रहरु निषेधाज्ञा खुकुलो भएसँगै खुल्न थालेका छन् । तर, कोरोनाको दोस्रो चरणको महामारी सुरु भएसँगै अनिश्चितकालका लागि बन्द भएको चलचित्र क्षेत्र खुलाउने विषयमा सरकारले कुनै निर्णय लिएको छैन । जसले गर्दा चलचित्र सम्बद्ध संघ संस्थाहरुले चलचित्रकर्मीलाई कोरोनाको खोप उपलब्ध गराएर चलचित्र क्षेत्रलाई सञ्चालनको अनुमति दिन आग्रह गरिरहेका छन् ।

शुक्रवार चलचित्र कलाकार संघको एक टोली अर्थमन्त्री जनार्दन शर्मालाई भेट गर्दै चलचित्रकर्मीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चलचित्र क्षेत्रलाई चलायमान बनाउन पहिला चलचित्रकर्मी सुरक्षित हुनुपर्ने भएकाले खोप उपलब्ध गराउन माग गरेको संघका अध्यक्ष रविन्द्र खड्काले बताए । संघको भवन निर्माणका लागि पनि बजेट माग गरिएको उनको भनाई छ ।
अर्थ मन्त्रालयमा भएको भेटघाट कार्यक्रममा कलाकारहरुले मन्त्री शर्मासँग विषम परिस्थितिमा चलचित्र क्षेत्रलाई कसरी चलायमान गराउन सकिन्छ भनेर पनि छलफल गरेका थिए । कलाकारको मागको विषयमा आफू सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता मन्त्री शर्माले जनाएको अध्यक्ष खड्काले बताए । मन्त्री शर्मासँगको भेटमा भुवन केसी, धिरेन शाक्य लगायत उपस्थित थिए ।