नेपाली चलचित्र क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत अभिनेत्री मिरुना मगर आइतवारबाट २७ वर्षमा लागेकी छन् । २०५१ साल साउन ३ गते हङकङमा जन्मिएकी उनी पछिल्लो समय परिवारसँग बेलायतमा बस्दै आएकी छन् । उनी १३ वर्षसम्म धरानमा पनि बसेकी थिइन् । आमा शशी थापा सुब्बाले लामो समय नाट्यकर्ममा विताएकाले उनलाई बाल्यकालदेखि नै अभिनयप्रति रुची थियो ।
नेपाल बसाईको क्रममा उनले अनुप बरालबाट अभिनय सिकेकी थिइन् । त्यसपछि नाटक ‘कथादेश ३’ मा काम गरिन् । यसलगत्तै उनलाई चलचित्र ‘लालपुर्जा’ अफर भयो । चलचित्रमा सौगात मल्लसँग जोडी बाँधिएको भए पनि उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । चलचित्र चलेन । उनको अभिनय पनि रुचाइएन । यसको केही समयपछि उनले चलचित्र ‘रोज’ मा काम गरिन् ।

चलचित्रमा उनको जोडी अहिलेका हटकेक अभिनेता प्रदीप खड्कासँग बाँधिएको थियो । प्रदीपको क्रेजका कारण चलचित्र सफल हुनेमा उनी विश्वस्त थिइन् । तर, दोस्रो पटक पनि उनले सफलताको सुख पाउन सकिनन् । यद्यपि, यो चलचित्रको ‘फूल हैन’ गीतले उनलाई दर्शकको ठूलो समुहमा चिनायो । यसकारण पनि उनले ‘रोज’ लाई आफ्नो करिअरको टर्निङ पोइन्ट मान्ने गरेकी छन् ।
उनी अभिनीत तेस्रो चलचित्र ‘साइनो’ हो । यो चलचित्रले आफ्नो करिअरमा सफलताको साइनो गाँस्ने मिरुनाको विश्वास थियो । तर, बक्सअफिस नतिजा उनले सोचेभन्दा विपरित आयो । फ्लप चलचित्रको सूचीमा अर्को नाम थपियो । उनले चौथो चलचित्र ‘चच हुई’ बाट पनि हिटको सुख पाउन सकिनन् । चार चलचित्रको असफलताले उनको करिअर नै संकटमा परेको छ ।
तर, लगातार चलचित्र असफल हुँदा पनि मिरुना कामविहीन हुनु परेको छैन । लकडाउनअघि उनले अभिनेता दयाहाङ राईसँग चलचित्र ‘जारी’ मा काम गरेकी थिइन् । यो चलचित्र कोरोनाका कारण प्रदर्शनमा आउन सकेको छैन । उनी फेरि दयाहाङकै जोडी बनेर चलचित्र ‘कबड्डी ४’ मा पनि काम गर्दैछिन् । यो चलचित्रले आफूलाई सफलता दिलाउनेमा उनी विश्वस्त छिन् ।




