लकडाउन अन्त्यपछि अभिनेता आर्यन सिग्देलले चलचित्र ‘डिसेम्बर फल्स’ मा काम गरे । यसलगत्तै उनी कविराज गहतराजले निर्देशन गर्ने चलचित्र ‘मिरर’ को छायांकनमा व्यस्त हुने तयारीमा थिए । तर, कोरोनाको दोस्रो चरणको महामारीले चलचित्र छायांकनमा जान सकेन । त्यसयता घरभित्रै सीमित भएका आर्यनले निषेधाज्ञा खुकुलो भएसँगै म्यूजिक भिडियोको छायांकन सुरु गरेका छन् ।
शुक्रवार र शनिवार काभ्रेमा उनले गायक सनुप पौडेलको आवाजमा रहेको एक गीतको छायांकन गरे । उक्त म्यूजिक भिडियोलाई चलचित्र ‘सेल्फी किङ’ का निर्देशक विशाल सापकोटाले निर्देशन गरेका हुन् । यसअघि विशालसँग आर्यनले चलचित्र ‘आई एम सरी’ मा एकसाथ काम गरेका थिए । यो चलचित्रमा उनीहरु दुवैको मुख्य भूमिका थियो । आर्यन र विशाल मिल्ने समेत साथी हुन् ।

गत वर्ष उनीहरु चलचित्रमा सहकार्य गर्ने तयारीमा थिए । लकडाउनमा उनीहरुले पोखरामा बसेर स्क्रिप्टमा काम समेत गरेका थिए । स्थिति सामान्य हुनसाथ छायांकनमा जाने उनीहरुको तयारी थियो । तर, विशाल ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा जोडिएपछि आर्यनसँगको प्रोजेक्ट थन्कियो । यद्यपि, चलचित्रमा हुन नसकेको उनीहरुको सहकार्य म्यूजिक भिडियोमा भएको छ ।
आर्यनलाई पहिलो पटक म्यूजिक भिडियोमा निर्देशन गरेका विशालले चलचित्रमा पनि चाँडै सहकार्य हुने बताए । उनले भने- ‘मैले पहिला ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक गर्नुपर्नेछ । त्यसपछि आर्यन दाईसँग एउटा प्रोजेक्टमा काम गर्ने योजना छ । कोरोनाका कारण तत्काललाई प्रोजेक्ट पोस्टपोन्ड गरेका हौं । उहाँ जस्तो प्रतिभावान कलाकारलाई चलचित्रमा पनि निर्देशन गर्ने इच्छा छ ।’




