मलाई पैसा होइन, किड्नी चाहिएको छ : पल्पसा डंगोल



हाँस्य टेलिश्रृखला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’ को भूमिका निर्वाह गरेपछि चर्चित बनेकी हाँस्य कलाकार पल्पसा डंगोल दुबै मिर्गौला फेल भएपछि विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत छिन् । उनलाई चिकित्सकले जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।

पल्पसाको मिर्गौला प्रत्यारोपण गर्नका लागि अहिले देश तथा विदेशमा बस्ने कलाकारले आर्थिक संकलन गरिरहेका छन् । तर, उनले आफ्ना लागि आर्थिक सहयोग संकलन नगर्न आग्रह गरेकी छन् । कलाकार दीपाश्री निरौलाका अनुसार, मिर्गौला प्रत्यारोपणका लागि १५/२० लाख खर्च लाग्ने भएकाले उक्त रकम पल्पसा आफैंले तिर्ने भएकी छन् ।

सुरुमा चिकित्सकले मिर्गौला प्रत्यारोपणका लागि ५० लाख खर्च लाग्ने बताएका थिए । तर, अहिले चिकित्सकले १५/२० लाखमै उपचार हुने बताएका छन् । दीपाश्री भन्छिन्, ‘पल्पसाले रकम सहयोग भन्दा पनि किड्नी चाहिएको बताउनुभएको छ । हाड नाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले अहिले आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्ने बिषयमा छलफल भइरहेको छ ।’

पल्पसाले विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी परिवारबाहेक कसैलाई पनि दिएकी थिइनन् । एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि २ छोरीको साथमा काठमाडौंमा बस्दै आएकी उनले दुई छोरीको लागि भएपनि आफू बाँच्न चाहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu