अब पुरानो ढर्रामा चलचित्र बन्न रोकिन्छ : प्रविण खतिवडा



कलाकार प्रविण खतिवडाले कोरोनाकालको समयमा नेपाली दर्शकले विश्वका चलचित्र हेरिसकेका कारण अब नेपाली चलचित्रकर्मीलाई गल्ती गर्न छुट नभएको बताएका छन् । अब नेपाली चलचित्रलाई दर्शकले विदेशी चलचित्र हेरेको आँखाले मुल्यांकन गर्ने भएकाले नेपाली चलचित्रकर्मी अपग्रेड हुनुपर्ने उनको भनाई छ । ​एउटा चलचित्रका लागि सोच्न दुई वर्षको समय पर्याप्त रहेको उनले बताए ।

सोमवार आफू अभिनीत तथा निर्देशित म्यूजिक भिडियो ‘फर्कन छोरा’ बोलको गीतको विषयमा जानकारी दिन राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले भने- ‘एउटा चलचित्रका लागि सोच्न दुई वर्षको समय पर्याप्त हो । स्क्रिप्ट लगायतका पाटोमा गहिरिएर काम गर्न पाएनौं भन्न अब छुट छैन । हामी अपग्रेड हुनैपर्छ । अब पनि पुरानै शैलीमा चलचित्र बनाए दर्शकले हेर्दैनन्, यो पक्का हो ।’


कोरोनाकालमा विश्वका चलचित्र हेरेर बाठा भएका दर्शकका लागि अब बाठै चलचित्र बनाउनु पर्ने उनको कथन छ । स्थिति सामान्य भएपछि पुरानो ढर्रामा चलचित्र बन्न रोकिने पनि उनले बताए । चलचित्र रिलिजका लागि अब सिनेमा हल मात्र विकल्प नरहेकाले वैकल्पिक बाटोबारे सोच्न चलचित्रकर्मीलाई उनको सुझाव छ । उनी नेपालमा ओटीटी प्लेटफर्मको विकास हुन जरुरी देख्छन् ।

दुईवटा म्यूजिक भिडियोको निर्देशन गरिसकेका प्रविणले आफू चलचित्र निर्देशनको तयारीमा समेत रहेको बताएका छन् । अहिलेसम्म चलचित्रमा गरेका कामबाट सन्तुष्ट हुन नसकेकाले आफ्नो निर्देशनप्रति मोह बढेको उनको भनाई छ । आफूले कल्पना गरेको कथालाई पर्दामा उतार्न आफू जति अरुले न्याय गर्न नसक्ने भएकाले पनि चलचित्र निर्देशन गर्ने इच्छा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu