अन्नपूर्ण मिडया नेटवर्क अन्तर्गतको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जले १ लाख नगद पुरस्कार राशीको ‘गाईजात्रा कमेडी च्यालेन्ज’ प्रतियोगिता घोषणा गरेको छ । गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको यो प्रतिस्पर्धामा प्रतिस्पर्धीले ३ मिनेटको हाँस्यव्यंग्य एकल प्रस्तुतिको भिडियो रेकर्ड गरेर पठाउनु पर्नेछ ।

प्रतिस्पर्धामा सहभागी हुनेमध्येबाट उत्कृष्ट ३० छनौट गरिने र उत्कृष्ट ३० ले निर्णायकले तोकेको बिषयमा ५ मिनेटको एकल प्रस्तुती पुनः पठाउनु पर्ने रेडियो अन्नपूर्ण नेपालका प्रमुख शिरोमणी दवाडीले जानकारी दिए । हरेक महिना हरेक नयाँ प्रतियोगिता कार्यक्रम लिएर अगाडि बढ्दै आएको रेडियो अन्नपूर्ण नेपालले गत महिना एक लाख नगद पुरस्कारकै भानु कबिता महोत्सव आयोजना गरेको थियो ।
‘गाईजात्रा कमेडी च्यालेन्ज’ को पहिलो चरण निर्णायकहरुमा चलचित्र निर्देशक उदय सुब्बा, डकुमेन्ट्री एवं म्यूजिक भिडियो निर्देशक दयाराम घिमिरे, चलचित्र निर्देशक सुमन दाहाल छन् भने फाइनल चरणको निर्णायकहरूमा बरिष्ठ हास्यव्यङ्गकार चट्याङ मास्टर, सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङे, बरिष्ठ हाँस्य कलाकार किरण केसी र अभिनेत्री सरिता लामिछाने छन् ।




