चलचित्र निर्माण संघले कोरोनाका कारण अति प्रभावित चलचित्र उद्योगलाई नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमार्फत आर्थिक राहतको व्यवस्था गर्न माग गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएको छ । बुधवार संघका अध्यक्ष आकाश अधिकारी, अभिनेता भुवन केसी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान लगायतले अर्थमन्त्रीसमक्ष विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
कोरोनाले थलिएको चलचित्र उद्योगलाई सहजीकरणको स्थितिमा लैजान मौद्रिक नीतिमा तीन वर्षपछिबाट साँवा ब्याज बुझाउने गरी ७ वर्षका लागि सुलभ कर्जा प्रवाह गर्नको साथै २०७७ को मौद्रिक नीतिमा झैँ यस वर्ष पनि चलचित्र उद्योगलाई अति प्रभावित उद्योगमा सूचिकृत यथावत राखेर यस प्रकारका मागलाई मौद्रिक नीतिमा व्यवस्थापन गरी सहजीकरण गर्न संघले माग गरेको छ ।

चलचित्र निर्माण गर्न चाहने व्यक्तिलाई बैंकिङ कर्जाको व्यवस्था गर्न, २०७६ बैशाखदेखि ठप्प रहेको चलचित्र क्षेत्र पुनः सुचारु हुने मितिसम्मका लागि ब्याज छुटको व्यवस्था गर्न, बैंक तथा वित्तिय संस्थाबाट चलचित्र निर्माण परियोजना कर्जाको व्यवस्था गर्न, ५ सय डलरसम्मको डेविड भिसा कार्डलाई २ हजार डलरसम्म पुर्याउन पनि संघले ज्ञापनपत्रमार्फत अर्थमन्त्रीसँग आग्रह गरेको छ ।
त्यस्तै, निर्माता संघले २०७८/०७९ को बजेटमा सम्बोधन भएको विषयलाई कार्यान्वयन गर्न र बजेटमा छुटेका विषयलाई पुनर्विचार गर्न ध्यानकर्षण गराएको छ । २०७७ को मौद्रिक नीतिले चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचिकृत गरे पनि कुनै किसिमको सहुलियत कर्जा उपभोग गर्न नपाएकाले अर्थ मन्त्रालयबाट समेत चलचित्र उद्योगलाई अति प्रभावित उद्योगमा राख्न संघको माग छ ।