आजभोली अभिनेत्री करिश्मा मानन्धरको व्यस्तता म्यूजिक भिडियोमा बढेको छ । कोरोना महामारीयता उनले लगातार म्यूजिक भिडियोमा काम गरिरहेकी छन् । बिहीवार उनी अभिनीत नयाँ गीत ‘माछीलाई खोलीको लेउ’ गीत सार्वजनिक भयो, जसमा उनको जोडी कलाकार हरिवंश आचार्यसँग बाँधिएको छ । गीतमा अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको पनि अभिनय छ ।
कोरोना महामारीपछि म्यूजिक भिडियोलाई प्राथमिकता दिनुको कारणबारे करिश्मा भन्छिन्, ‘म चलचित्रको सुपरस्टार हुँ, मैले चलचित्रमा मात्र काम गर्नुपर्छ वा मलाई दर्शकले सिनेमा हलमा मात्र हेर्नुपर्छ भनेर बस्ने अवस्था छैन अब । कोरोना महामारीले हामी सबैलाई एकै ठाउँमा समेटेको छ ।’ चलचित्रका कलाकारले म्यूजिक भिडियोमा अभिनय गर्नु नराम्रो नभएको उनको कथन छ ।

जसरी वा जुन माध्यमबाट भए पनि कलाकार दर्शकसम्म पुग्नु पर्ने उनी बताउँछन् । ‘अहिले नेटफ्लिक्समा कति राम्रो-राम्रो चलचित्र आउँछन् । ठूला-ठूला कलाकारले काम गरेका हुन्छन् । अनि, हामी चाहिँ किन नगर्ने त ?’ उनी अगाडि भन्छिन्, ‘जसरी हुन्छ दर्शकसम्म पुग्नु पर्छ । हरिवंश दाईहरुले त म्यूजिक भिडियो गरिरहनु भएको छ भने म्यूजिक भिडियोमा काम गर्नु राम्रो कुरा हो ।’
पछिल्लो समय म्यूजिक विनाका चलचित्र पनि निर्माण हुन थालेको बताउँदै उनले मानिसको जीवनमा गीत एउटा महत्त्वपूर्ण हिस्सा बनेको र यसबाट कोेही पर बस्न नसक्ने बताइन् । उनी भन्छिन्, ‘यूट्युबमा म्यूजिक भिडियोले करोडौं भ्यूज पाएका छन् । यसको मतलब मानिसहरुले म्यूजिक भिडियो मन पराएका छन् । यो बेला चलचित्र चाहिँ ठूलो, म्यूजिक भिडियो सानो भन्ने अवस्था छैन ।’




