नेपाली चलचित्र क्षेत्रमा नेपोटिज्म छैन : भुवन केसी



गत वर्ष नेपोटिज्म र ग्रुपिज्मको बहसले नेपाली चलचित्र क्षेत्र राम्रै तातेको थियो । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले बलिउडमा व्याप्त नेपोटिज्म र ग्रुपिज्मकै कारण आत्महत्या गरेको भन्दै बहस सुरु भएपछि यसको बाछिट्टा नेपालसम्म आइपुगेको थियो । अभिनेत्री नम्रता सापकोटाले नेपाली चलचित्र इन्डस्ट्रीमा पनि नेपोटिज्म रहेको भन्दै बहसको सुरुवात गरेकी थिइन् ।

यो विषयमा तीव्र बहस चलिरहँदा सबभन्दा बढी नाम अभिनेता भुवन केसी र उनका छोरा अनमोल केसीको आएको थियो । तर, त्यसबेला मौनता साँधेर बसेका भुवन केसीले हालै यस विषयमा आफ्नो भनाई राखेका छन् । शनिवार आफू अभिनीत एक गीतको सार्वजनिक कार्यक्रममा उनले भने- ‘नेपाली चलचित्रमा नेपोटिज्म छैन । यो कुरा एक/दुई जनाले हल्ला फिजाएर अन्तर्वार्ता दिएर रमाउनका लागि बोलेका मात्र हुन् ।’

उनले हरेक निर्माताले आफ्नो लगानी फिर्ता गर्ने कलाकारसँग काम गर्न चाहने बताए । ‘चलचित्र मेकिङमा करोडौं लाग्छ । हरेक निर्माताले आफ्नो लगानी सुरक्षित हुने कलाकारलाई लिएर चलचित्र बनाउन चाहन्छ । लगानी फिर्ता नहुने कलाकारलाई निर्माताले लिँदैन । जो व्यक्तिले यस्तो कुराहरु फैलाइरहेको छ, त्यो व्यक्तिमा निर्माताको लगानी फिर्ता गर्ने दम छ ?’, उनले प्रश्न सोझ्याए ।

निर्माताको लगानी फिर्ता गर्ने दम भएका कलाकार कहिल्यै कामविहीन हुनु नपर्ने उनको तर्क छ । अभिनेत्री नम्रता सापकोटाप्रति कटाक्ष गर्दै भुवनले भने- ‘यदी उहाँले खेलेको चलचित्रले ३/४ करोड कमाउँछ भने उहाँलाई म ५० लाख दिएर चलचित्र खेलाउँछु । तर, २० लाख पनि कमाउँदैन भने कसैले लिँदैन । गुमाउनका लागि कसैले चलचित्र बनाउँदैन । त्यसैले नेपोटिज्म हल्ला मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu