दीपकराज गिरीको टिम र अभिनेता भुवन केसी गत वर्ष चलचित्रमा टिमअप गर्ने तयारीमा जुटेका थिए । दीपकराज गिरी र अनमोल केसीलाई एकसाथ लिएर चलचित्र बनाउन दुवै टिम केही चरण छलफलमा बसे पनि कोरोना महामारी सुरु भएसँगै काम रोकियो । त्यसैक्रममा दीपाश्री निरौलासँँग भुवन केसीको सम्बन्ध विग्रिएको चर्चा चलेको थियो । तर, शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा दुवैले सम्बन्ध विग्रिएको चर्चामा सत्यता नभएको बताए ।

दीपाश्री भन्छिन्, ‘भुवन दाईसँग सम्बन्ध न कहिले विग्रिएको थियो न भोलीका दिनमा नै विग्रन्छ । भुवन दाई र हामी टिमअप गरेर एउटा चलचित्र बनाउने तयारीमा थियौं । तर, कोरोना र लकडाउनले रोकियो । माहोल राम्रो भयो भने हामी चलचित्रमा टिमअप गर्छौं ।’ भुवन केसीले पनि दीपाश्रीसँँग कहिल्यै सम्बन्ध नविग्रिएको दाबी गरे । उनी दीपाश्रीको प्रशंसा गरेर पनि थाकेनन् ।
‘दीपाश्रीले जसरी संघर्ष गरेर कलाकार र निर्देशकको रुपमा आफूलाई स्थापित गरेकी छन्, चलचित्र क्षेत्रले उनलाई सलुट गर्नुपर्छ । यस्तो महान व्यक्तिसँँग म्यूजिक भिडियोमा भए पनि काम गर्न पाएँ एकदमै खुसी छु,’ उनले भने । दीपाश्रीको टिमसँग चलचित्रमा टिमअपको तयारी भइरहेको पनि उनले बताए । स्थिति सामान्य भएपछि टिमअपका लागि पुनः छलफल गरिने उनको भनाई छ ।




