नेपाल चलचित्र निर्माता संघले चलचित्र छायांकनका लागि आवश्यक पर्ने नक्कली तर सक्कली देखिने हातहतियार प्रयोग गर्ने वातावरण मिलाउन माग गर्दै प्रहरी प्रधान कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । मंगलवार संघका अध्यक्ष तथा फिल्म निर्देशक आकाश अधिकारीले प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामासँग भेट गरेर विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

नेपालमा नक्कली हातहतियार आयात गर्ने कम्पनीलाई निश्चित परिधीभित्र राखेर राज्यबाट नियमित रुपमा सुपरिक्षेण र प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निगरानीमा त्यस्ता हातहतियारको प्रयोगलाई संस्थागत गरी छायांकनमा नक्कली प्लास्टिकका हातहतियार प्रयोग गर्ने वातावरण मिलाउन र प्रहरीकै निगरानीमा सक्कली हातहतियार प्रयोग गर्ने अनुमति दिन संघले आग्रह गरेको छ ।
चलचित्रको छायांकनमा प्रहरी जवानको आवश्यकता परेको खण्डमा २५ देखि ५० प्रतिशत जवान उपलब्ध गराउनुका साथै प्रतिव्यक्ति ५ हजारबाट घटाएर १ हजार शुल्क कायम गर्न, छायांकनमा प्रहरीको भ्यानका लागि बुझाउनु पर्ने शुल्क घटाएर १ हजार वा १५ सय कायम गर्न पनि संघको माग छ । प्रहरी नायव महानिरीक्षक लामाले संघको माग पूरा गर्न प्रयास गर्ने आश्वासन दिएका छन् ।

