अभिनेता आर्यन सिग्देल बिहीवारबाट ३७ वर्षमा प्रवेश गरेका छन् । २०४१ साल साउन २१ गते थानकोटमा जन्मिएका उनको नागरिकतामा भने जन्म मिति साउन ५ छ । उनको न्वारनको नाम हरिश सिग्देल हो । चलचित्रमा प्रवेश गरेपछि उनले नाम परिवर्तन गरेर आर्यन राखेका थिए । चलचित्रमा उनलाई यही नाम फाप्यो । दर्शकले उनलाई चकलेटी हिरोको रुपमा चिन्ने गरेका छन् ।
आर्यन चलचित्रमा आउनुभन्दा अगाडि एक्सन चलचित्र अत्याधिक बन्थे । लभस्टोरी चलचित्र बनाउन निर्माताले खासै जोखिम उठाउँदैन थिए । जसले गर्दा एकै शैलीका चलचित्रले दर्शक समेत आजित थिए । जब चलचित्र ‘किस्मत’ बाट आर्यनले नायकको रुपमा डेब्यू गरे, त्यसपछि एक्सन चलचित्रको यूग लगभग सकियो । उनको प्रवेशसँगै लभस्टोरी चलचित्र निर्माणमा बाढी आएको थियो ।
डेब्यू चलचित्रबाटै स्टारको रुपमा उदाएका आर्यनले त्यसपछि डेढ दशक करिअर पछाडि फर्केर हेर्नु परेन । लभस्टोरी चलचित्रमा निर्विकल्पझैँ थिए । युवापुस्तामा गजबको क्रेज थियो । उनको नामैले चलचित्र चल्थ्यो । उनलाई फिल्ममा लिनका लागि निर्माताहरु महिनौंसम्म कुर्थे । जति पारिश्रमिक मागे पनि निर्माताले मोलमोलाइ गर्दैन थिए । त्यसबेला उनलाई ‘नम्बर वान नायक’ भनिन्थ्यो ।

चलचित्र ‘मेरो एउटा साथी छ’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेका उनले आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर निस्किएर पनि केही चलचित्रमा काम गरेका छन् । तर, दर्शकले उनलाई हरर, कमेडी, एक्सनभन्दा लभस्टोरी चलचित्रमै बढी रुचाए । ‘कसले चोर्यो मेरो मन’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘के यो माया हो’, ‘कोही मेरो’, ‘नाईं नभन्नू ल ३’ लगायत उनी अभिनीत यादगार चलचित्र हुन् ।
एक समय लगातार सफल चलचित्र दिएका आर्यन केही वर्षयता भने एउटा हिट चलचित्रको पखाईमा छन् । आफ्नो खस्किँदो स्टारडम उकास्न उनले अभिनेत्री रेखा थापासँँगको दुश्मनी भुलेर चलचित्र ‘रुद्रप्रिया’ मा एकसाथ काम गरे । आफ्नै लगानीमा चलचित्र ‘कायरा’ बनाए । भिन्न भूमिकामा चलचित्र ‘हजार जुनीसम्म’ मा अभिनय गरे । तर, उनलाई कसै गरी पनि सफलता मिल्न सकेको छैन ।
चलचित्र ‘च च हुईं’ पछि पर्दामा नदेखिएका उनले निषेधाज्ञाभन्दा अगाडि चलचित्र ‘डिसेम्बर फल्स’ को छायांकन सकेका थिए । लगत्तै कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा बन्न लागेको चलचित्र ‘मिरर’ मा काम गर्ने तयारीमा थिए । तर, कोरोना भाइरसका कारण चलचित्रको छायांकन सुरु हुन सकेन । उनी ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटासँग पनि एक चलचित्रमा काम गर्दैछन् ।




