आशिरमान देशराज जोशीलाई नेपाली चलचित्रका ह्यान्डसम तथा स्टाइलिस अभिनेता भन्ने गरिन्छ । शहरीया युवापुस्तामा उनको राम्रो क्रेज छ । विशेषगरि युवतीहरु उनका डाइहार्ट फ्यान छन् । उनले चलचित्र ‘ग्याङस्टार ब्लूज’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । चलचित्र फ्लप मात्र आशिरमानको अभिनय पनि दर्शकले रुचाएनन् ।

यसपछि उनले दोस्रो पटक पनि हेमराज विसीकै चलचित्र ‘द ब्रेकअप’ मा काम गरे । रिलिजपूर्व चलचित्रको राम्रो चर्चा थियो । तर, दोस्रो चलचित्रले पनि उनलाई हिटको सुख दिन सकेन । दुई चलचित्रको असफलतापछि आशिरमान गुमनाम झैँ छन् । न उनलाई नयाँ चलचित्रबाट अफर भएको खबर मिडियामा चुहिएको छ न उनले नयाँ चलचित्र नै साइन गरेका छन् ।
दुई चलचित्रमा मुख्य नायकको रुपमा काम गरिसकेका आशिरमानले अब चलचित्र अभिनय देखाउने इच्छा रहेको बताएका छन् । सोमवार प्रशारण भएको ‘मुन्द्रेको कमेडी क्लब’ मा उनले आफूले हिरो भएर काम गरिसकेकाले अब आफ्नो अभिनय देखाउन चाहेको बताए । यसको मतलब उनी आफूलाई अभिनयमा प्रमाणित गर्ने एउटा गतिलो चलचित्रको खोजीमा छन् ।