गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जित्न सफल भएका छन् । उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् । गायक प्रमोद खरेलको टिमबाट किरण फाइनलमा प्रवेश गरेका थिए । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनी विजेता भएका हुन् ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा टिम राजुका तारा श्रीस मगर, टीम दीप श्रेष्ठका आर्यन तामाङ, टीम तृष्णा गुरुङका ज्वाला राई ‘टप फोर’ मा अटाएका छन् । यी तीनै जना फाइनलिस्टले ‘द भ्वाइस’ को ट्रफी पाएका छन् । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुति दिएका थिए ।
उपाधि जितेपछि किरण गजमेरले आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । उनले भने–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’ भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।




