‘एक्स ९’ मा अनमोल अनुबन्ध



अभिनेता अनमोल केसी चलचित्र ‘एक्स ९’ मा अनुबन्धित भएका छन् । शनिवार काठमाडौंको म्यारियट होटलमा उनले यो चलचित्र साइन गरेका हुन् । मुकुन्द भट्टले निर्देशन गर्ने चलचित्रमा अनमोल टाइटल क्यारेक्टरमा हुनेछन् । उनले महंगो पारिश्रमिक बुझेर चलचित्र साइन गरेको बताइएको छ । उनलाई निर्माण टिमले ७५ लाख पारिश्रमिकसहित चलचित्र अफर गरेको थियो ।

यो चलचित्रका लागि निर्देशक भट्टसहितको टिम लामो समयदेखि अनमोलसँग छलफलमा थियो । निषेधाज्ञाअघि नै दुई पक्षबीच मौखिक सहमति भए पनि कागजी सम्झौता हुन सकेको थिएन । अनमोलले आउँदो जनवरीबाट चलचित्रको छायांकन सुरु गर्नेछन् । यसअघि उनी आफ्नै होम प्रोडक्सनको ‘पारस, एन्टी हिरो र माइतीघर २’ मध्ये एउटा चलचित्रको छायांकन पूरा गर्ने योजनामा छन् ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्रको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् । नेपालसँगै यूरोप, आबुधाबी र क्यानडामा खिचिने चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवालको पनि अभिनय रहनेछ ।

नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर चलचित्र दाबी गरिएको ‘एक्स ९’ का लागि भिलेनको भूमिका बलिउड अभिनेता सुनील शेट्टीलाई अफर गरिएको छ । तर, उनीसँग कागजी सम्झौता भइसकेको छैन । उनीसँग एग्रिमेन्ट गर्न निर्माण टिम चाँडै भारत जाने तयारीमा छ । यो चलचित्रलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गर्न पनि पहल गरिने निर्देशक भट्टले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu