चलचित्रकर्मीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । निर्माता श्रीदेव विएलको पहलमा आइतवार पाटन ढोकास्थित पुरानो अशोक सिनेमा हलको परिसरमा चलचित्रकर्मीलाई भेरोसेल खोपको पहिलो डोज लगाउन थालिएको हो । बिहान ९ बजेदेखि सुरु भएको खोप कार्यक्रम दिउँसो चार बजेसम्म चल्ने नेपाल चलचित्र कलाकार संघले जनाएको छ ।

बिहान ९ देखि १० बजेसम्म कलाकारलाई, ११ देखि १२ बजेसम्म चलचित्र निर्माता र सिनेमा हल व्यवसायीलाई, १ देखि २ बजेसम्म प्राविधिकलाई, २ देखि ३ बजेसम्म नृत्य र द्वन्द्व कलाकारलाई, ३ देखि साढे ३ बजेसम्म निर्देशकलाई र साढे तीन बजेपछि जनजाति महासंघ र अन्य संघ संस्थामा आबद्ध रहेका चलचित्रकर्मीलाई खोप लगाइने कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।
कलाकार संघले निकालेको तालिका अनुसार नै चलचित्रकर्मीहरु कोरोनाविरुद्धको खोप लगाउन पुगिरहेका छन् । बिहान ९ देखि १० बजेसम्म भुवन केसी, पल शाह, पुष्प खड्का, रेजिना उप्रेती, धिरेन शाक्य, दुर्गेश थापा लगायतले खोप लगाए । सरकारले चलचित्रकर्मीलाई दोस्रो मात्राको भेरोसेल खोप पनि चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाएको संघका अध्यक्ष खड्काको भनाई छ ।


