कोरोना महामारीभन्दा अगाडि अभिनेता सौगात मल्लको व्यस्तता लोभलाग्दो थियो । एउटा चलचित्रको छायांकन नसकिँदै उनी अर्को चलचित्रमा अनुबन्ध भइसकेका हुन्थे । उनको हातमा २/३ वटा चलचित्र कहिल्यै टुट्दैन थियो । अफर आएका चलचित्र अस्वीकार गर्ने उनको बानी थिएन र छैन । तर, कोरोना संक्रमणका कारण डेढ वर्षदेखि उनको दैनिकी घरभित्रै वितिरहेको छ ।
लकडाउन अन्त्यपछि उनी चलचित्र ‘कबड्डी ४’ को छायांकनमा निस्कने तयारीमा थिए । तर, चलचित्रको मुहुर्त भएको केही दिनमा नै कोरोनाको दोस्रो महामारीका कारण सरकारले छायांकनमा प्रतिबन्ध लगायो । अब यो चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ, निर्माण टिमलाई नै थाहा छैन । उनले लकडाउनअघि अभिनेत्री रेखा थापाको एक अनटाइटल प्रोजेक्ट पनि साइन गरेका थिए ।

लकडाउनपछि उनले निर्देशक आकाश अधिकारीको चलचित्र साइन गरे । आइतवार उनी फेरि अर्को चलचित्रमा अनुबन्ध भएका छन् । उनले चलचित्र ‘एक्स ९’ साइन गरेका हुन् । यसमा उनले पहिलो पटक अभिनेता अनमोल केसीसँग काम गर्दैछन् । उनी निश्चल बस्नेतको चलचित्र ‘जिन्दावाद’ मा पनि काम गर्ने तयारीमा छन् । यसरी हेर्दा, सौगात मल्लको पाइपलाइनमा आधा दर्जन चलचित्र छन् ।
उनको पाइपलाइनझैँ रिलिजको तयारीमा रहेका चलचित्र पनि धेरै छन् । उनी अभिनीत ‘माइकल अधिकारी, लप्पन छप्पन २, मन्त्र, घनचक्कर, मासु भात’ चलचित्र प्रदर्शनको पखाईमा छन् । चलचित्र ‘लुट’ मा ‘हाकु काले’ को भूमिका निर्वाह गरेपछि एकाएक चम्किएका सौगात मल्ल हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सिपालु मानिन्छन् । यसैले उनी हरेक मेकरको रोजाईमा छन् ।




