मैले चलचित्रमा धेरै रिजेक्सन झेलेको छु : ऋचा घिमिरे



नेपाली चलचित्र क्षेत्रकी तत्कालीन समयमा ‘ब्ल्याक ब्युटि’ उपमाबाट परिचित अभिनेत्री हुन्, ऋचा घिमिरे । दुई दर्जन चलचित्र र थुप्रै टेलिचलचित्रमा अभिनय गरिसकेकी ऋचाका ‘छोडि गए पाप लाग्ला, गिरफ्तार, फर्ज, फैसला’ लगायत थुप्रै चलचित्र हिट लिस्टमा पर्छन् । तर, केही वर्षयता उनी अभिनयबाट टाढा छिन् । परिवारसहित उनी अमेरिका बस्न थालेको लामो समय भइसकेको छ ।

अमेरिका बस्न थालेको केही वर्षको अन्तरालपछि ऋचा श्रीमानसँग एक महिनाका लागि नेपाल आएकी छन् । पारिवारिक भेटघाटपछि काठमाडौं फर्किएको यो जोडी यतिबेला सञ्चारमाध्यममा अन्तर्वार्ता दिन व्यस्त छ । मिडियाले आफूहरुलाई दिएको महत्त्व देखेर उनीहरु पनि कम दंग छैनन् । हरेक अन्तर्वार्तामा यो जोडीले अमेरिका पलायन हुनुको कारणबारे जवाफ दिन छुटाएको छैन ।

पत्रकार राज श्रेष्ठसँग टेलिभिजन अन्तर्वार्तामा अभिनेत्री ऋचा घिमिरेले चलचित्र क्षेत्रमा फोहोरी राजनीति देखेपछि आफूले अमेरिका जाने निर्णय लिएको बताएकी छन् । चलचित्र ‘ब्रेकफेल’ रिलिजको समयमा चलचित्र क्षेत्रमा देखेको फोहोरी राजनीतिले आफूलाई अमेरिकामा सेटल हुनका लागि निर्णय लिन बाध्य बनाएको उनको भनाई छ । चलचित्र क्षेत्रमा एकता नभएको पनि उनी बताउँछिन् ।

आफूमा कहिल्यै विदेश मोह नभएको उनको कथन छ । ऋचा भन्छिन्, ‘यदी मलाई विदेशको मोह हुन्थ्यो म धेरै अगाडि सेटल भइसकेको हुन्थेँ । म सन् २००९ मा अमेरिका जाँदा सिंगल थिए । त्यसबेला सेटल हुन झन् सजिलो हुन्थ्यो । तर, मैले त्यसो गरिनँ । मैले बनाएको चलचित्र ‘ब्रेकफेल’ रिलिजको समयमा चलचित्रकर्मीबाटै साथ नपाएपछि अमेरिका जाने निर्णय लिन बाध्य भएको थिएँ ।’

अभिनयमा सक्रिय रहँदा वर्णका कारण पनि धेरै चलचित्रबाट आफूलाई रिजेक्ट गरिएको उनी बताउँछिन् । ‘म पिक्चर परर्फेक्ट एक्ट्रेस होइन । अभिनेत्रीको जुन मानक बनेको छ त्यसमा मेरो केही म्याच हुँँदैन थियो,’ उनी अगाडि भन्छिन्, ‘मेरो वर्णको कारण मलाई चलचित्रबाट रिजेक्ट गरिन्थ्यो, मेरो इनोसेन्ट अनुहार छैन भनेर पनि हटाइन्थ्यो । मैले चलचित्रमा धेरै रिजेक्सन झेलेको छु ।’

उनले आफू अमेरिकी सिटिजन लिने सोचमा नभएको बताएकी छन् । ‘हामीले जुन उद्देश्यका लागि ग्रिनकार्ड लिएका थियौं, त्यो पूरा भइरहेको छ । बच्चाका लागि शिक्षा, स्वास्थ्य नै हाम्रो उद्देश्य थियो, त्यो पूरा भएको भने किन सिटिजन लिने ?’, उनले भनेकी छन् । अमेरिकामा शिक्षा र स्वास्थ्य सबैको पहुँचमा भए पनि आफ्नो पन र आफन्तको माया नेपालमै रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu