चलचित्र ‘सानो मन’ रिलिजको दुई वर्षपछि अभिनेत्री शिल्पा मास्के नयाँ चलचित्रमा अनुबन्ध भएकी छन् । गत हप्तादेखि तनहुँ क्षेत्रमा छायांकन भइरहेको चलचित्र ‘लाइफ इन एलए’ मा उनको प्रवेश भएको हो । निर्माण टिमले चलचित्रमा समावेश ‘पागल प्रेमी’ गीतको छायांकनका केही तस्विरहरु सार्वजनिक गरेको छ, जसमा शिल्पालाई नव-अभिनेता व्यास बिस्सुसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित रहेको चलचित्रमा गौरव पहारी, अकेसा विष्ट, जेरेड विलप्स, वुद्धि तामाङ, विष्णु गौतम लगायतका कलाकारको पनि अभिनय छ । वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रलाई सूर्य एन श्रेष्ठले निर्देशन गरिरहेका छन् । ‘लाइफ इन एलए’ मा व्यास बिस्सु र राजेन्द्र ठकुरी निर्माता र संसार सुवेदी कार्यकारी निर्मातामा छन् ।

चलचित्रमा एलिस कार्कीको संगीत, बाबु श्रेष्ठरक्रिस वारेनको छायांकन र कविराज गहतरावजको कोरियोग्राफी रहेको छ । यो चलचित्रबाट अकेसा विष्टले ६ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेकी हुन् । चलचित्र ‘जिन्दगी रक्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । चलचित्रको छायांकनका लागि उनी यसै हप्ता नेपाल ओर्लिएकी छन् ।




