भोजपुरीपछि नेपाली चलचित्र निर्देशन गर्ने तयारीमा चन्द्र



नेपाली चलचित्रमा द्वन्द्व निर्देशकको रुपमा स्थापित चन्द्र पन्त यतिबेला भोजपुरी मार्केटमा जमेका छन् । उनी निर्देशित पहिलो चलचित्र ‘निरहुवा चलल लन्डन’ नै बक्सअफिसमा सुपरहिट भएको थियो । अहिले उनले तेस्रो भोजपुरी चलचित्र ‘माही’ को छायांकन गरिरहेका छन् । यसमा नीता ढुंगाना, प्रशान्त ताम्रकार, नरेन खड्का लगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।

अब उनी नेपाली चलचित्र पनि निर्देशन गर्ने तयारीमा छन् । आफू यसै वर्ष नेपाली चलचित्र निर्देशन गर्ने योजनामा रहेको उनले बताए । भोजपुरी चलचित्र ‘माही’ को छायांकनका लागि लखनऊमा रहेका उनले फोनवार्तामा भने- ‘मलाई धेरै पहिलादेखि निर्देशनको अफर आएको थियो । तर, म आफैं कन्फिडेन्ड नभएकाले निर्देशन गरिनँ । अब चाहिँ नेपाली चलचित्र निर्देशन गर्नेछु ।’

निर्माता द्वय छविराज ओझा र भुवन केसीले आफूलाई चलचित्र निर्देशनको अफर गरेको उनी बताउँछन् । छवि ओझाको चलचित्रको स्क्रिप्ट फाइनल भइसकेका कारण यो चलचित्र अगाडि हुनसक्ने उनले बताए । ‘मैले इन्डस्ट्रीमा छवि बा र भुवन दाईलाई सबैभन्दा बढी सम्मान गर्छु । उहाँहरुले धेरै पहिलादेखि मेरो चलचित्र निर्देशन गर भन्नु भएको थियो । अब त्यो दिन आएको छ ।’

चलचित्रमा अनमोललाई निर्देशन गर्ने आफ्नो ठूलो इच्छा रहेको उनले बताए । उनलाई अनमोल अत्यन्त मिहिनेती लाग्छ । ‘कृ’ मा उनले गरेको मिहिनेतबाट आफू प्रभावित भएको चन्द्र बताउँछन् । उनले भने- ‘चलचित्र इन्डस्ट्रीमा मलाई अनमोल सबैभन्दा बढी मनपर्छ । ऊसँग केही चलचित्रमा काम गरे पनि अझै धित मरेको छैन । अब उसलाई चलचित्रमा निर्देशन गर्ने इच्छा चाँडै पूरा हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu