पहिलो पटक सिरियलमा मौसमी मल्ल



एक समयकी चर्चित अभिनेत्री मौसमी मल्लले केही वर्षयता विरलै चलचित्रमा अभिनय गरेकी छन् । पछिल्लो पटक चलचित्र ‘कारखाना’ मा देखिएकी उनको नयाँ चलचित्र ‘निम्तो’ रिलिजको पखाईमा छ । गत चैतमा आमा गुमाएकी उनले आमा विरामी भएपछि चलचित्रमा काम गर्न कम गरेकी थिइन् । अब आमाको वार्षिकी सकिएपछि अभिनयलाई निरन्तरता दिने उनको सोच छ ।

केही महिनादेखि कावासोतीमा रहेकी उनले फोनवार्तामा भनिन्, ‘मैले चलचित्रबाट सन्यास लिएको छैन । आमाको स्वास्थ्य राम्रो नभएसम्म चलचित्र खेल्दिनँ भनेको थिएँ । किनकि, मैले आमालाई साथ दिनु थियो । म एक्लो सन्तान हुँँ । आमा अलि निको भएको बेला मैले ‘कारखाना र निम्तो’ भन्ने चलचित्र गरेको थिएँ । गत चैतमा आमा वित्नुभयो । अब वार्षिकी नसकिएसम्म चलचित्रमा काम गर्दिनँ ।’

उनी आमाको बर्खान्तपछि चलचित्र निर्माण गर्ने योजनामा पनि छिन् । अहिले स्क्रिप्टमा काम भइरहेका उनले बताइन् । अघिल्लो पुस्ताका केही अभिनेत्रीहरु चलचित्रमा आमाको भूमिकामा काम गर्न नमानिरहेको अवस्थामा मौसमी भने आफूलाई आमाको रोलमा अभिनय गर्न कुनै आपत्ति नभएको बताउँछिन् । उमेर अनुसार चलचित्रमा कलाकारको चरित्र फरक हुँदै जाने उनको कथन छ ।

आमाको बर्खान्तअघि चलचित्रमा अभिनय नगर्ने बताएकी मौसमी मल्लले यो बीचमा एक टेलिसिरियलमा भने काम गरेकी छन् । सञ्चारकर्मी गोपीकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा बनेको ‘बाटुली’ सिरियलमा उनी मुख्य भूमिकामा छिन् । गोपीकृष्णकै कथा र पटकथा रहेको सिरियल आउँदो भदौ १ गतेबाट प्रत्येक हप्ताको मंगलवार साँझ ६ बजे प्रशारणमा आउनेछ ।

पहिलो पटक टेलिसिरियलमा काम गर्दा आफूले नयाँ अनुभव बटुल्न पाएको मौसमी बताउँछिन् । कथावस्तु र आफ्नो भूमिका राम्रो लागेकाले सिरियलमा काम गरेको मौसमीको भनाई छ । सिरियलमा उनले मोवाइल युगभन्दा अगाडिको दुर्गम गाउँकी एक महिलाको भूमिका निर्वाह गरेकी छन् । सिरियलमा सिपी पौडेल, खगराज सापकोटा, नारायण प्रभु लगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu