सूर्य एन श्रेष्ठ निर्देशित चलचित्र ‘लाइफ इन एलए’ को छायांकन सकिएको छ । आइतवार पोखरामा चलचित्रको अन्तिम दृश्य खिचिएको हो । २९ दिन (१९ दिन अमेरिकामा र १० दिन नेपालमा) छायांकन भएको चलचित्रले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा वाचन गर्छ । नेपालमा चलचित्रको छायांकन पोखरा, भिमाद लगायतका क्षेत्रमा भएको हो ।

चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, अकेशा विस्ट, व्यास बिस्सु, वुद्धि तामाङ, विष्णु गौतम लगायतको अभिनय छ । वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा व्यास बिस्सु र राजेन्द्र ठकुरी निर्माता र संसार सुवेदी कार्यकारी निर्मातामा छन् । चलचित्रलाई आउँदो दशैंको छेकोमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रको पोस्ट प्रोडक्सनको काम सुरु भइसकेको छ ।
एलिस कार्कीको संगीत, बाबु श्रेष्ठ/क्रिस वारेनको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको यो चलचित्रबाट अकेशा ६ वर्षपछि अभिनयमा फर्किएकी छन् । म्यूजिक भिडियोमा काम गरिरहँदा चलचित्र ‘जिन्दगी रक्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । चलचित्रको छायांकनका लागि उनी गत हप्ता नेपाल आएकी थिइन् ।




