चलचित्र ‘एक’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ । मंगलवार मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्र डिजिटल रिलिज हुने जानकारी दियो । मनोज पण्डितको निर्देशन रहेको चलचित्र आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्महरूमार्फत प्रदर्शन हुनेछ । यसअघि नै चलचित्रको ‘तड्का-तड्का’बोलको गीत सार्वजनिक भइसकेको छ ।

‘अब हरेक कुराको डिजिटल युग सुरू भइसकेको छ। ‘विश्वका धेरै ठूला सिनेमा उद्योगहरू पनि डिजिटल प्रमोशनमा गइसकेका छन्’, निर्देशक पण्डित भन्छन्, ‘अब नेपाली चलचित्र क्षेत्रमा पनि यसको विकल्प छैन । कसै न कसैले त सुरुवात गर्नैपर्थ्यो । यो रिस्क हामीले लिएका छौं ।’ नेपाली राजनीतिमा हुने विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको ‘प्लट’ मा चलचित्र आधारित छ ।
चलचित्रको मुख्य भूमिकामा विशाल पोख्रेल छन् । उनले चलचित्रमा एक गुप्तचरको भूमिका निभाएका छन् । राजनीतिमार्फत देशविरुद्ध लाग्नेहरू विरुद्ध उनले गरेको संघर्षको कथा चलचित्र ‘एक’ले बोकेको छ । यो कथा खासगरी मधेस मुद्दामा केन्द्रित छ । चलचित्रको छायांकन मधेसका फाँटदेखि डोल्पाका हिमाली भेगसम्ममा गरिएको हो ।
निर्देशक पण्डितका अनुसार, यो चलचित्र ‘स्पाई थ्रिलर जनर’ हो । राजनीतिक परिचक्रभित्र घुमेको यो चलचित्र एक्सनले पनि भरिपूर्ण छ । चलचित्रमा एक्सन निर्देशन प्रमोद खड्काले गरेका छन् भने अर्को मुख्य भूमिकामा प्रमोद अग्रहरी पनि छन् । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेको चलचित्रमा बालकलाकारको भूमिकामा विश्वंत पोखरेल देखिएका छन् ।
यस्तो छ ‘एक’ को डिजिटल पोस्टर :-




